विन्दे यादव
सिरहा    / बरियारपट्टी गाउँपालिकाको सहयोग तथा मोन्टेन मल्टीप्रपोज प्रा.लि., सुखीपुरको आयोजनामा आयोजित गुडिया (डल) बनाउने ५ दिने तालिम र कपडा धुने सरफ बनाउने ३ दिने तालिम सफलतापूर्वक सम्पन्न भएका छन् । दुबै तालिमको उद्घाटन कार्यक्रम बरियारपट्टी गाउँपालिकाका उपाध्यक्ष ममता कुमारी यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

गुडिया निर्माण तालिम २०८२ साल असार ४ गतेदेखि ८ गतेसम्म बरियारपट्टी गाउँपालिका–५, हैरपुर मा सञ्चालन गरिएको थियो । तालिममा २० जना महिला सहभागी भई गुडिया बनाउने कलात्मक सीप, कपडा छान्ने तरिका, डिजाइन गर्ने कला, सजावट र बजारमा बिक्री गर्ने ज्ञान आर्जन गरेका थिए । तालिमकी प्रशिक्षक मया गुप्ताले सहभागीहरूलाई व्यवहारिक अभ्यास गराउँदै विभिन्न प्रकारका पुतलीहरू बनाउने सीप सिकाइन् ।

त्यस्तै, कपडा धुने सरफ बनाउने तालिम २०८२ साल असार ७ गतेदेखि ९ गते सम्म गोविन्दपुर मा सम्पन्न भएको थियो । तालिममा सहभागी महिलाहरूले घरमै सरफ बनाउन प्रयोग हुने सामग्री, रसायनको मिश्रण, मात्रा मिलाउने तरिका, परफ्युम र रंग मिलाउने विधि, प्याकेजिङ र गुणस्तर जाँचजस्ता विषयमा ज्ञान प्राप्त गरे । सरफ तालिमकी प्रशिक्षक मिरा साह लगायतका सहायक प्रशिक्षकहरूको सहकार्यमा तालिम सफलतापूर्वक सम्पन्न गरिएको थियो ।

दुबै तालिममा महिला सहभागीहरूको उल्लेखनीय उत्साह र सक्रियता देखिएको थियो। सहभागीहरूले यस्ता तालिमले आत्मनिर्भर हुन सहयोग पु¥याउने बताउँदै नियमित तालिम सञ्चालन गरिदिन माग गरे। तालिम समापन कार्यक्रममा सहभागीहरूद्वारा बनाइएका गुडिया र सरफको प्रदर्शन गरिएको थियो भने सबै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा पालिकाका अन्य प्रतिनिधिहरू, प्रशिक्षक, स्थानीय अगुवा तथा आयोजक संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रमका सहयोजक मनिषा कुमारी मण्डल ले पनि तालिम सफल बनाउन निरन्तर प्रयास गरेको जानकारी गराइन् ।

मोन्टेन मल्टीप्रपोज प्रा.लि. का तर्फबाट आगामी दिनमा यस्ता सीपमूलक तालिमहरूलाई अन्य वडामा समेत विस्तार गर्दै महिलाहरूको आत्मनिर्भरता र उत्पादन क्षमतालाई प्रवद्र्धन गरिने प्रतिबद्धता जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय