दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम ।

 

धनुषाको नगराइन नगरपालिकामा छोटो अवधिभित्र भएका दुई रहस्यमय मृत्युका घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। राखी कमती र बालक साकेत कुमार झाको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन नेपाली कम्युनिस्ट पार्टी, नगराइन नगर कमिटीले माग गरेको छ।

 

पार्टीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नगराइन नगरपालिका–७ निवासी राखी कमतीको शव गत कार्तिक ३ गते फेला परेको थियो। त्यसको भोलिपल्ट कार्तिक ४ गतेदेखि सोही वडाका ७ वर्षीय बालक साकेत कुमार झा बेपत्ता भएका थिए। बेपत्ता भएको ११ दिनपछि उनको शव लगमा–देवडिहा क्षेत्रअन्तर्गत खिरखिरिया चौरीमा फेला परेको थियो।

 

लगातार भएका यी घटनाले नगराइन क्षेत्रमा त्रास र चिन्ता बढाएको उल्लेख गर्दै पार्टीले दुवै घटनाको वास्तविकता सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

 

पार्टीले दुवै घटनाको निष्पक्ष, स्वतन्त्र र गहिरो अनुसन्धान तत्काल अघि बढाउन, घटनासँग सम्बन्धित प्रमाण सुरक्षित राख्न तथा वैज्ञानिक विधिबाट अनुसन्धान गर्न आग्रह गरेको छ। साथै, घटनामा संलग्न दोषीको पहिचान गरी कानुनबमोजिम कडा कारबाही गर्न र पीडित परिवारलाई न्यायको अनुभूति हुने गरी अनुसन्धानको प्रगति तथा सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ।

 

त्यसैगरी नगराइन नगरपालिकाका नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउनुपर्नेमा पनि पार्टीले जोड दिएको छ।

 

विज्ञप्तिमा कुनै पनि निर्दोष व्यक्ति आरोपित हुन नहुने र वास्तविक दोषी कानुनी कारबाहीबाट उम्किन नपाउने स्पष्ट पार्दै पार्टीले न्याय र सत्यतथ्यको पक्षमा आफूहरू सदैव प्रतिबद्ध रहेको जनाएको छ।

 

 

निष्पक्ष छानबिन गर, दोषीलाई कानुनी कारबाही गर र पीडित परिवारलाई न्याय देऊ भन्ने मागसहित पार्टीले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय