शिव दयाल यादव

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका स्थित एक विद्यालयका शिक्षकले शिशु कक्षा पढ्ने बालकलाई निर्घात कुटपिट गरेका छन् ।

बिष्णुपुर गाउँपालिका वडा नम्बर ४ थल्हाको श्री आधारभुत प्रा.बि.स्कुलका शिक्षक सनोज यादबले ४ वर्षीय विद्यार्थी राजु कुमार यादबलाई निर्घात कुटेको खुल्न आएको छ ।

विद्यालयमा पढने क्रममा शिक्षकले कुटेको बालको हजुरबुवा राज कुमार यादबले बताएका छन् । उनको ढाडमा निलडाम छ । विद्यालयमा यातना पाएर घर पुगेका बालक बिरामी भएका थिए ।

निरन्तर ज्वरो आएको नातिलाई स्थानीय मेडिकलमा लगेर जचाउँदा शरीरभर निलडाम भेटिएको र सोधपुछ गर्दा विद्यालयमा कुटाई खाएको बताएको हजुरबुवा यादबले जानकारी दिए ।

घटनाका आरोपी शिक्षकले भने स्कुलमा विद्यार्थीको आमा आफैले कुट्दै स्कुल ल्याएको थियो, सिक्षिकाले चुप लगाउन सम्झाउदा दातले टोक्न खोज्दा हटाउन खोज्दा अटेर गरेपछि सामान्य नैसियत दिएको बताए ।

‘मैले हातले मात्रै हानेको हुँ । तर, लाठीले पिटेको भनेर घटनालाई बंग्याउन खोजिँदैछ,’ उनले आफ्नो बचाउ गर्दै भनेका छन् ।

कानुनअनुसार बालबालिकामाथि दुर्व्यवहार गर्ने व्यक्तिलाई जरिवानादेखि जेलसम्मको सजायको व्यवस्था गरिएको छ । बालबालिका ऐन २०७५ को दफा ६६ को (घ) र (ङ) मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, शारीरिक चोटपटक पुर्‍याउनेलाई बालबालिकाविरुद्धको हिंसा मानिने उल्लेख गरिएको छ ।

उक्त ऐनको दफा ७२ मा उक्त कार्य गरेमा सजायको व्यवस्था गरिएको छ । जसमा शरीरमा चोटपटक पुर्‍याएमा ७५ हजार जरिवानादेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।

शिक्षकहरू अभद्र हुन थालेपछि मानसिक स्वास्थ्यको परीक्षण गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् । ‘मानसिक स्वास्थ्यका बारेमा कसैले कुरा गरेको छैन । शिक्षक मानसिक रूपले स्वस्थ छ कि छैन हेर्नुपर्छ,’ शिक्षाविदहरु भन्छन ‘मानसिक स्वास्थ्य ठीक नभएको शिक्षकको डर र त्रासमा विद्यार्थीले के सिक्छ ?’

प्रतिक्रिया

सम्बन्धित खवर