दिपक श्रेष्ठ मण्डल

जनता टुडे कार्तिक २४

आर्थिक अभावका कारण कुनै पनि परिवार छठ पर्वको खुसीबाट वञ्चित हुन नपरोस् भन्ने मानवीय भावनाका साथ समाजसेवी तथा गायक रमेश महतो सिंगरले १०० भन्दा बढी विपन्न परिवारलाई छठ पूजाका सामग्री वितरण गरेका छन्।

 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ का विपन्न, आर्थिक रूपमा कमजोर तथा जरूरतमन्द परिवारलाई महतोले मंगलबार आफ्नै निजी खर्चमा साडी, साया, ब्लाउज तथा छठ पूजाका लागि प्रतिपरिवार पाँच किलोका दरले गहुँ वितरण गरेका हुन्।

 

छठ पर्व आस्था, श्रद्धा, त्याग र सामाजिक सद्भावको प्रतीक भएकाले आर्थिक अभावकै कारण कसैले पनि पर्व मनाउने अवसर गुमाउन नपरोस् भन्ने उद्देश्यले सहयोग गरिएको महतोले बताए। पर्वको खुसी सबैको घरआँगनमा पुगोस् र आर्थिक कठिनाइमा रहेका परिवारले पनि हर्षोल्लासका साथ छठ मनाउन सकून् भन्ने आफ्नो चाहना रहेको उनको भनाइ छ।

 

उनले समाजसेवा केवल भाषण र प्रतिबद्धतामा सीमित नभई व्यवहारमा देखिनुपर्ने उल्लेख गर्दै आफ्नो क्षमताअनुसार जरूरतमन्दलाई सहयोग गर्नु सामाजिक दायित्व भएको बताए।

 

पर्वको अवसरमा गरिएको यस सहयोगले आर्थिक रूपमा कमजोर परिवारलाई छठको तयारीमा राहत पुग्नुका साथै समाजमा आपसी सद्भाव, सहयोग र मानवीय सेवाको सकारात्मक सन्देश दिएको छ। स्थानीयवासीले महतोको व्यक्तिगत लगानीमा गरिएको पहलको प्रशंसा गर्दै यसलाई अनुकरणीय सामाजिक कार्यका रूपमा लिएका छन्।

 

वडा नं. १४ का अध्यक्ष पुण्य प्रताप यादवको प्रमुख आतिथ्यमा सहयोग सामग्री वितरण कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा नं. १४ का सभापति सनातन यादव, ठाडी युवा क्लबका सल्लाहकार विशेश्वर यादव, राजदेव यादव, स्थानीय समाजसेवी लक्ष्मी राय, भागचरण यादव, लिलाधर यादव, अशोक राय, राकेश यादव, चन्दन गुप्तालगायत स्थानीय अगुवा तथा व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

 

निजी लगानीमा १०० भन्दा बढी परिवारलाई छठ पूजाका सामग्री उपलब्ध गराएर महतोले पर्वको खुसी बाँड्नुका साथै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका छन्। आर्थिक अवस्था कमजोर भए पनि सबैले सम्मानपूर्वक र हर्षोल्लासका साथ चाडपर्वको खुसी मनाउन पाउनुपर्छ भन्ने सन्देश उनको यस पहलले दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय