
दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, कार्तिक २४
महोत्तरीको लोहरपट्टी नगरपालिकास्थित गेउरकाधाम क्रिकेट मैदानमा गेउरका स्पोर्ट्स क्लबको आयोजनामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि माननीय सांसद कामिनी चौधरीले गर्नुभएको हो।
नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ४ खुट्टा पिपरारीले वडा नं. १ बगरालाई पराजित गर्दै शानदार विजयी सुरुवात गरेको छ।
खेलमा टस जितेर खुट्टा पिपरारीले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको बगरा टोलीले निर्धारित १६ ओभरमा ८५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको खुट्टा पिपरारीले मात्र ८ ओभरमा लक्ष्य पूरा गर्दै सहज जित हासिल गरेको हो।
गेउरका स्पोर्ट्स क्लबका अध्यक्ष धीरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अंकित यादव, रास्वपा नेता अम्बु प्रसाद साह, इन्जिनियर दीपक कर्ण, युवा नेता चन्दन मण्डल, अशोक चौधरी तथा स्थानीय युवा अभियन्ता बृजकिशोर यादवसहित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा क्लबका सदस्य सिकिन्द्र यादवले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
स्थानीयस्तरमा क्रिकेट खेलको विकास गर्ने, युवाहरूको खेल प्रतिभा उजागर गर्ने तथा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।





