
दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम , कार्तिक १९
जनकपुरधाम । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय, मधेश प्रदेशद्वारा आयोजित आर्थिक वर्ष २०८२/०८३ को प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरले प्रदेशभरिका अस्पतालमध्ये प्रथम स्थान हासिल गरेको छ।
स्वास्थ्य सेवा प्रवाह, गुणस्तरीय स्वास्थ्य शिक्षा, संस्थागत उपलब्धि तथा कार्यसम्पादनको मूल्यांकनका आधारमा प्रतिष्ठानले उत्कृष्टता हासिल गर्दै प्रदेशकै उत्कृष्ट अस्पतालको पहिचान बनाउन सफल भएको हो। यस उपलब्धिको कदर गर्दै स्वास्थ्य निर्देशनालय, मधेश प्रदेशले प्रतिष्ठानलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरेको छ।
गोष्ठीका अवसरमा प्रतिष्ठानका रजिस्ट्रार डा. विनोद कुमार यादवलाई कदरस्वरूप प्रशंसापत्र तथा सम्मान प्रदान गरिएको थियो। प्रतिष्ठानले यस क्षेत्रको स्वास्थ्य सेवा विस्तार, गुणस्तरीय चिकित्सा शिक्षा तथा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा पुर्याउँदै आएको योगदानको समेत उच्च प्रशंसा गरिएको थियो।
वार्षिक समीक्षा गोष्ठीमा आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशभरिका स्वास्थ्य संस्थाहरू तथा स्वास्थ्यकर्मीबाट सम्पादित कार्यक्रम, स्वास्थ्य सेवा प्रवाहको अवस्था, संस्थागत प्रगति, उपलब्धि तथा चुनौतीबारे विस्तृत समीक्षा र छलफल गरिएको थियो।
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशकसहित प्रदेशभरिका स्वास्थ्य क्षेत्रका विज्ञ, विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रदेशभरिका अस्पतालबीचको मूल्यांकनमा प्रथम स्थान हासिल गर्नु मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरका लागि महत्वपूर्ण संस्थागत उपलब्धि हो। यस सफलताले जनकपुरधामसहित समग्र मधेश प्रदेशको स्वास्थ्य सेवा र चिकित्सा शिक्षा क्षेत्रमा प्रतिष्ठानको योगदानलाई थप स्थापित गरेको छ। साथै, आगामी दिनमा अझ गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न प्रतिष्ठानलाई थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।






