लौह पुरूष सरदार पटेल जयन्तीमा भारत–नेपालका अगुवा एकै मञ्चमा दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज कार्तिक१४ भारतको राष्ट्रिय एकता र अखण्डताका शिल्पकार, लौह पुरुष तथा भारत रत्नबाट सम्मानित सरदार वल्लभभाई पटेलको १५१औँ जन्मजयन्तीका अवसरमा भारतको बिहार राज्यस्थित सुगौलीमा विशेष समारोह आयोजना गरिएको छ। समारोहमा भारत र नेपालका राजनीतिक, सामाजिक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा भारत सरकारका पूर्वकेन्द्रीय मन्त्री आर.सी.पी. पटेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी बिहार सरकारका पूर्वमन्त्री बृषण पटेल, मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पटेल र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश कुमार पटेल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। रक्सौल विधानसभा प्रत्याशी एवं सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व भुवन पटेलको समेत विशेष उपस्थिति रहेको थियो। त्यस्तै, पटेल छात्रावास युवा संघ, बिहारका अभय पटेल, श्री कुर्मी सशक्तीकरण मञ्च रौतहटका अध्यक्ष शिवजी राय पटेल, जसपा नेता पुनप्रताप पटेल, समाजसेवी नागेन्द्र प्रसाद पटेल तथा उपसचिव जयकुमार राउत पटेललगायत विभिन्न क्षेत्रका गणमान्य व्यक्तित्वहरूको सहभागिता रहेको थियो। समारोहमा कुर्मी समुदायका अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो। समारोहमा सरदार वल्लभभाई पटेलले भारतको राष्ट्रिय एकीकरण र राष्ट्र निर्माणमा पुर्याउनुभएको ऐतिहासिक योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो। उहाँको दृढ इच्छाशक्ति, दूरदर्शी नेतृत्व, संगठन क्षमता तथा राष्ट्रिय एकताप्रतिको अटुट प्रतिबद्धतालाई विशेष रूपमा स्मरण गरिएको थियो। कार्यक्रममा सामाजिक एकता, आपसी सद्भाव, भाइचारा र संगठनात्मक सुदृढीकरणको महत्त्वमाथि समेत जोड दिइएको थियो। सरदार पटेलका आदर्श र विचारलाई व्यवहारमा आत्मसात् गर्दै समाजलाई शिक्षित, संगठित र सशक्त बनाउने दिशामा सामूहिक प्रयास आवश्यक रहेको सन्देश प्रवाह गरिएको थियो। समारोहले भारत र नेपालका सामाजिक तथा सामुदायिक अगुवाहरूबीच आपसी आत्मीयता, सम्बन्ध विस्तार र सहकार्यको भावनालाई थप प्रगाढ बनाउने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।