विरेन्द्र नेपाल
सिरहा / सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलका एक युवकको घरबाट एक थान कटुवा पेस्तोल बरामद भएको छ ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा शुक्रबार राति करिब ९:२० बजे इलाका प्रहरी कार्यालय लहानबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीय अन्दाजी १८ वर्षीय मोहम्मद अफरोज राईनको घरमा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गरेको थियो। सो क्रममा घरबाट एक थान कटुवा पेस्तोल फेला परेपछि प्रहरीले बरामद गरेको हो ।
बरामद गरिएको हतियारलाई इलाका प्रहरी कार्यालय लहानमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा मोहम्मद अफरोज राईन काठमाडौं महानगरपालिका–३२, तीनकुनेस्थित 2020 Boys Hostel मा बस्दै आएको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लहानले काठमाडौं प्रहरी वृत्त बानेश्वरसँग समन्वय गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहान, सिरहा ल्याउने प्रक्रिया जारी रहेको जनाएको छ ।





