
दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, कार्तिक १७।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री नगेन्द्र साहले स्वास्थ्य क्षेत्रमा रहेका कमी–कमजोरी लुकाउनुको सट्टा तिनलाई स्वीकार गर्दै सुधारका ठोस उपाय अवलम्बन गर्नुपर्ने बताएका छन्।
मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजनामा जनकपुरधामस्थित होटल पौवामा मंगलबारदेखि सुरु भएको आर्थिक वर्ष २०८२/८३ को प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री साहले यस्तो बताएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले नागरिकलाई सहज, सुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको प्रमुख दायित्व भएको उल्लेख गरे। स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिँदै उनले विगतका अनुभवबाट पाठ सिकेर सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सम्बन्धित सबै निकाय जिम्मेवार हुनुपर्ने बताए।
उनले एक्काइसौँ शताब्दीमा स्वास्थ्य क्षेत्रको योजना निर्माण र कार्यान्वयनका लागि तथ्यांकमा आधारित प्रणाली अपरिहार्य रहेको उल्लेख गर्दै सही, विश्वसनीय र अद्यावधिक तथ्यांकका आधारमा स्वास्थ्य सेवाको आवश्यकता पहिचान, स्रोतसाधनको परिचालन तथा कार्यक्रमको प्राथमिकता निर्धारण गर्नुपर्ने धारणा राखे।
मन्त्री साहले वार्षिक समीक्षा गोष्ठीलाई प्रगति विवरण प्रस्तुत गर्ने औपचारिकतामा मात्र सीमित नराखी कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या, चुनौती र कमजोरी पहिचान गरी समाधानका व्यावहारिक उपाय तय गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरे।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नवलकिशोर झाको अध्यक्षतामा आयोजित कार्यक्रममा विशेष अतिथिका रूपमा प्रदेशसभा सदस्य तथा महिला, बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति रूपा कुमारी यादव र प्रदेश नीति तथा योजना आयोगका प्रतिनिधिको सहभागिता रहेको थियो।
त्यसैगरी जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादव तथा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार एवं प्रधानाध्यापक डा. विनोदकुमार यादवसहित स्वास्थ्य क्षेत्रका विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्तिक १७ देखि १९ गतेसम्म सञ्चालन हुने तीनदिने गोष्ठीमा आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभर सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, बजेट तथा स्रोतसाधनको उपयोग र सेवा प्रवाहको अवस्थाबारे समीक्षा गरिनेछ।
साथै, स्वास्थ्य कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौती पहिचान गरी आगामी दिनमा प्रदेशको स्वास्थ्य सेवा प्रणालीलाई थप व्यवस्थित, गुणस्तरीय, जवाफदेही र परिणाममुखी बनाउने विषयमा छलफल हुनेछ। गोष्ठीबाट प्राप्त निष्कर्ष र सुझावले मधेश प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि आगामी कार्ययोजना निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।





