मनिषा मण्डल
सिरहा / राहत शिक्षक, बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको म्याद थपका विषयमा अनावश्यक दबाब सिर्जना नगर्न नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति सिरहाले स्थानीय तह तथा विद्यालय प्रशासनलाई आग्रह गरेको छ। समितिले आफ्नो आग्रह बेवास्ता गरी शिक्षक तथा कर्मचारीमाथि ज्यादती र दबाब कायम राखिए जिल्लाभर संयुक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
समितिका अध्यक्ष किशुन देव यादवद्वारा २०८३ असोज २० गते जारी प्रेस विज्ञप्तिमा सामुदायिक विद्यालयमा कार्यरत राहत अनुदान कोटाका शिक्षक, बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको म्याद थपका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
समितिका अनुसार शिक्षक तथा कर्मचारीका पेसागत समस्या र विद्यालयको शैक्षिक गुणस्तर सुधारका विषयमा विभिन्न समयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास तथा समन्वय इकाइ सिरहा तथा स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखामा ज्ञापनपत्र र ध्यानाकर्षणपत्र बुझाउँदै आएको छ। यसका साथै सामाजिक सञ्जालमार्फत प्रेस विज्ञप्ति जारी गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको समितिले जनाएको छ।
विज्ञप्तिमा राष्ट्रिय सतर्कता केन्द्र, काठमाडौंको चलानी नं. २५/२९६६, मिति २०८२/०२/११ तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरको चलानी नं. २११ को पत्राचारलाई समेत सन्दर्भका रूपमा उल्लेख गरिएको छ। धनगढीमाई नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षक, बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको म्याद थपको विषयमा समितिले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो।
समितिले स्थानीय तह, शिक्षा, युवा तथा खेलकुद शाखा र विद्यालयका प्रधानाध्यापकहरूलाई शिक्षक तथा कर्मचारीमाथि बाध्यात्मक परिस्थिति सिर्जना गरी म्याद थप गर्न दबाब नदिन आग्रह गरेको छ।
समितिको मागलाई बेवास्ता गरी शिक्षक तथा कर्मचारीमाथि अन्यायपूर्ण व्यवहार जारी राखिए राहत शिक्षक, बालविकास शिक्षक, विद्यालय सहयोगी तथा अन्य विद्यालय कर्मचारीलाई एकजुट बनाएर जिल्लाभर संघर्षका कार्यक्रम सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ।
समितिले आन्दोलनबाट उत्पन्न हुन सक्ने असहज परिस्थितिको जिम्मेवारी सम्बन्धित स्थानीय तहले लिनुपर्ने चेतावनीसमेत दिएको छ।
नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति सिरहाले शिक्षक तथा कर्मचारीका समस्या समाधान गर्न सम्बन्धित स्थानीय तह र विद्यालय प्रशासनलाई आग्रह गर्दै आएको जनाएको छ।





