जनता टुडे |

जनकपुरधाम।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट वडा अध्यक्षका सम्भावित उम्मेदवारका रूपमा  नयाँ पुस्ताका जेन जी युवा उज्ज्वल महतोको चर्चा हुन थालेको छ। सामाजिक सेवा, सार्वजनिक सरोकार, सुशासन, वातावरण संरक्षण र नागरिक अधिकारका क्षेत्रमा सक्रिय रहँदै आउनुभएका महतो आफ्नो कर्मशीलता, सेवाभाव, अध्ययनशीलता र सरल व्यक्तित्वका कारण स्थानीयस्तरमा परिचित हुनुभएको छ।

नाम मात्रै उज्ज्वल होइन, सोच र कर्ममा पनि उज्ज्वल देखिने महतो प्रचारप्रसारभन्दा परिणाममुखी काम, व्यक्तिगत प्रसिद्धिभन्दा सामाजिक योगदान र पदभन्दा जिम्मेवारीलाई प्राथमिकता दिने स्वभावका युवा हुनुहुन्छ। शान्त, सौम्य, विनम्र र मिलनसार व्यक्तित्वका उहाँ सामाजिक गतिविधिमा सक्रिय रहे पनि आफूले गरेका कामको श्रेय लिनभन्दा सामूहिक प्रयासलाई महत्व दिने गरेको उहाँसँग नजिक रहेर काम गर्नेहरूको भनाइ छ। चर्चाभन्दा योगदान र प्रचारभन्दा सेवामा विश्वास गर्ने उहाँको सामाजिक सक्रियताले वडा नं. ४ मा नयाँ पुस्ताको नेतृत्व र जिम्मेवारीबारे बहसलाई थप चासोपूर्ण बनाएको छ।

महतोको सामाजिक सक्रियताको महत्वपूर्ण पक्ष मानव सेवा र असहायको उद्धारसँग जोडिएको छ। मानव सेवा आश्रमको भवन निर्माणमा सहयोग गर्नुका साथै सडकमा रहेका असहाय तथा अपाङ्गता भएका व्यक्तिहरूको उद्धार र पुनर्स्थापनामा उहाँले योगदान पुर्‍याउँदै आउनुभएको छ। घरबारविहीन तथा भोकाएका व्यक्तिहरूलाई भोजन, आर्थिक सहयोग र आवश्यक सामग्री उपलब्ध गराउने कार्यमा समेत उहाँको सहभागिता रहँदै आएको छ।

सार्वजनिक जवाफदेहिता र सुशासनका सवालमा पनि महतो सक्रिय देखिनुहुन्छ। सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउन आवाज उठाउनु, मालपोत कार्यालय जनकपुरधाममै कायम राख्न गरिएको आन्दोलनमा सहभागी हुनु तथा सरकारी निकाय र निर्वाचित जनप्रतिनिधिलाई सार्वजनिक अनियमितता, भ्रष्टाचार र गैरजिम्मेवारीबारे प्रश्न गर्दै पारदर्शिता र जवाफदेहिताको माग गर्नु उहाँका सार्वजनिक गतिविधिका महत्वपूर्ण पक्ष हुन्। जनकपुरधाममा भएको नवपुस्ताको आन्दोलनमा समेत उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो।

जनकपुरधामका ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र वातावरणीय स्वच्छताका लागि धनुषसागर, गंगासागर, रुक्मिणी सरोवर, विशारा पोखरी, लक्ष्मण पोखरी तथा गोरधोइ पोखरीलगायतका स्थानमा सरसफाइ अभियानको नेतृत्व तथा समन्वय गर्नुभएको छ। सार्वजनिक स्थलमा डस्टबिन वितरण, प्लास्टिक प्रदूषण न्यूनीकरण, आफ्नै खर्चमा सडकबत्ती जडान तथा मर्मत र वृक्षारोपणका लागि बाँसका ट्रीगार्ड उपलब्ध गराउने कार्यमा समेत उहाँको योगदान रहेको छ। सडकका खाल्डाखुल्डी पुर्ने र सम्बन्धित निकायलाई जिम्मेवार बनाउन निरन्तर पहल गर्नु पनि उहाँको सामाजिक सक्रियताको अर्को पक्ष हो।

मानव सेवासँगै पशु संरक्षणमा पनि उहाँको उल्लेखनीय सक्रियता रहेको छ। मधेश प्रदेशमा पशु उद्धारसम्बन्धी संस्था स्थापना तथा सञ्चालनमा भूमिका निर्वाह गर्नुका साथै सडकका जनावरहरूको उद्धार र नियमित आहार व्यवस्थापनमा उहाँले योगदान पुर्‍याउनुभएको छ। त्यस्तै, छठ पर्वका अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जनकपुरधाम आउनुभएको बेला उहाँले सुरक्षा संयोजकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो।

शैक्षिक क्षेत्रमा पनि महतोको पृष्ठभूमि उल्लेखनीय छ। उहाँले राजर्षि जनक विश्वविद्यालयको कानुन सङ्कायको प्रवेश परीक्षामा प्रथम स्थान हासिल गरी हाल कानुन अध्ययन गरिरहनुभएको छ। यसअघि चिकित्सकीय चित्राङ्कन प्रविधिमा विज्ञान स्नातक तथा निदानात्मक चिकित्सकीय अल्ट्रासाउन्डमा स्नातकोत्तर डिप्लोमा हासिल गर्नुभएको छ। श्रीमद्भगवद्गीताको कर्मयोगबाट प्रेरित उहाँ समाज र जनकपुरधामको हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्ने दृष्टिकोण राख्नुहुन्छ।

स्थानीय राजनीतिमा नयाँ पुस्ताको सहभागिता, पारदर्शिता, सुशासन र परिणाममुखी नेतृत्वको बहस चलिरहेका बेला वडा नं. ४ मा महतोको नाम चर्चामा आउनुलाई चासोका साथ हेरिएको छ। सामाजिक अनुभव, शैक्षिक पृष्ठभूमि र सार्वजनिक सरोकारका विषयमा देखाउँदै आएको सक्रियताका कारण उहाँको सम्भावित राजनीतिक यात्राबारे स्थानीयस्तरमा चासो बढ्दै गएको छ। यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उहाँको उम्मेदवारी औपचारिक रूपमा घोषणा भइसकेको छैन। पार्टीको आधिकारिक निर्णय र स्थानीय मतदाताको मूल्याङ्कनले नै उहाँको आगामी राजनीतिक भूमिकाको टुङ्गो लगाउनेछ।

जनकपुरधामको समृद्धि, स्वच्छता, सुशासन र सामाजिक रूपान्तरणका लागि नयाँ सोच, स्पष्ट दृष्टिकोण र जिम्मेवार युवा सहभागिताको आवश्यकता औँल्याइरहेका बेला उज्ज्वल महतोको सामाजिक सक्रियता र सम्भावित राजनीतिक यात्राले वडा नं. ४ मा नयाँ बहस सिर्जना गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय