
सरोज मल्लिक
जनकपुरधाम, कात्तिक २७ गते।
मधेश प्रदेश खेलकुद परिषद्का बोर्ड सदस्य जितेन्द्र यादवको अध्यक्षता तथा सदस्यसचिव शिवजीप्रसाद कानुको प्रमुख आतिथ्यमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेश प्रदेशस्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि जनकपुरधाममा सुरु भएको छ। जनकपुरधामस्थित कभर्ड हलमा आयोजित उद्घाटन समारोहमा मधेश प्रदेशका पूर्वकानुनमन्त्री ज्ञानकुमार यादव विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा परिषद्का कार्यकारिणी सदस्य दीपेन्द्रकुमार गोइतले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्रशासनिक प्रमुख ज्यायुल इस्लाम, परिषद्का बोर्ड सदस्यहरू प्रवीणनारायण शिवाकोटी, लव अधिकारी, सञ्जय यादव, सुनील यादव र निशेष श्रेष्ठ, धनुषा जिल्ला खेलकुद समितिका अध्यक्ष कुश यादव, विभिन्न खेल संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। ‘खेली मधेश, जिती मधेश’ भन्ने नाराका साथ सुरु भएको छनोट प्रतियोगितामार्फत आगामी राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट गरिनेछ। सुरुमा प्रदेशका आठै जिल्लाका महिला तथा पुरुष कबड्डी खेलाडीको छनोट गरिने र अन्य खेलका छनोट प्रतियोगिता विभिन्न जिल्लामा सञ्चालन गरी मंसिर ४ गतेसम्म प्रक्रिया सम्पन्न गर्ने परिषद्को योजना छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै सदस्यसचिव कानुले राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने मधेशका खेलाडीलाई ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनको अघिल्लो दिनसम्म मासिक २५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरे। परिषद्को छैटौँ बैठकबाट स्वर्ण पदक विजेतालाई प्रोत्साहनस्वरूप मासिक भत्ता दिने निर्णय भएको जानकारी दिँदै उनले खेलाडीलाई न्यूनतम एक लाखदेखि अधिकतम पाँच लाख रुपैयाँसम्म पुरस्कार उपलब्ध गराउने व्यवस्था पनि छिट्टै कार्यान्वयनमा ल्याइने बताए। खेलाडीको मनोबल बढाउने, प्रतिभाको सम्मान गर्ने र खेलकुदलाई व्यावसायिक बनाउने उद्देश्यले प्रोत्साहनका कार्यक्रम अघि सारिएको उल्लेख गर्दै उनले खेलाडीलाई उपयुक्त वातावरण र भविष्य सुरक्षित हुने विश्वास दिलाउन आवश्यक रहेको बताए। मधेशमा खेलकुदको प्रचुर सम्भावना भए पनि पर्याप्त पूर्वाधार, सरकारी प्राथमिकता र बजेटको अभावले खेलाडीको भविष्य प्रभावित भइरहेको बताउँदै उनले खेलकुदलाई प्रदेश सरकारको प्राथमिकतामा राख्न आग्रह गरे। आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कुल ३२ विधामध्ये मधेश प्रदेशले २९ विधामा सहभागिता जनाउने र खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकसहित ७१७ सदस्यीय टोलीले प्रदेशको प्रतिनिधित्व गर्ने उनले जानकारी दिए। छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर विशेष तयारी गराइने पनि उनले बताए। यसैबीच, प्रतियोगिताको तयारीका लागि प्रदेश सरकारले विनियोजन गरेको ४५ लाख रुपैयाँ बजेटमा ५० प्रतिशत कटौती गरिएपछि खेलाडी छनोट, बन्द प्रशिक्षण तथा व्यवस्थापनमा चुनौती थपिएको परिषद्ले जनाएको छ। प्रतियोगिता नजिकिँदै गर्दा बजेट कटौतीसँगै बाँकी रकमसमेत रोक्का गर्ने निर्णयले तयारी प्रभावित हुने अवस्था आएको कानुको भनाइ छ। खेलाडीको आवास, भोजन, यातायात तथा प्रशिक्षण सामग्रीको व्यवस्थापनका लागि थप बजेट आवश्यक रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारलाई बजेट कटौती नगर्न र राष्ट्रिय प्रतियोगिताको तयारी तथा सहभागिताका लागि थप बजेट विनियोजन गर्न आग्रह गरे। खेलकुदमा लगानी गर्नु नागरिकको स्वास्थ्य, अनुशासन र भविष्यमा लगानी गर्नु भएको बताउँदै उनले स्वास्थ्य क्षेत्रमा विनियोजित बजेटको केही प्रतिशत खेलकुदका लागि छुट्याउन सके प्रदेशले उत्कृष्ट नतिजा हासिल गर्न सक्ने धारणा राखे। कबड्डीलाई मधेशको मौलिक पहिचानसँग जोडिएको खेलका रूपमा व्याख्या गर्दै उनले खेलाडीलाई अनुशासन, खेल भावना र नियमको पूर्ण पालना गरी उत्कृष्ट प्रदर्शन गर्न आह्वान गरे। ‘मधेश जाग्यो, मधेश खेल्छ र मधेश जित्छ’ भन्ने सन्देश राष्ट्रिय स्तरमा स्थापित गर्नुपर्नेमा जोड दिँदै उनले मधेशका खेलाडीले प्रदेशको गौरव बढाउने विश्वास व्यक्त गरे। कार्यक्रममा सहभागी वक्ताहरूले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्न खेलाडीलाई पर्याप्त सुविधा, बजेट र प्रभावकारी व्यवस्थापन उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका
थिए।





