
दिपक श्रेष्ठ मण्डल
महोत्तरी,मंसिर ६ गते।
लोहरपट्टी नगरस्तरीय क्रिकेट प्रतियोगितामा महदैया टोलीले शानदार जित निकाल्दै उपाधि आफ्नो नाममा गरेको छ। खुट्टा पिपराढीस्थित खेल मैदानमा श्री गेउरकाधाम स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा महदैया टोलीले भमरपुरालाई ६९ रनको फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो। क्लबका अध्यक्ष तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का क्षेत्रीय सभापति धीरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको समापन समारोहमा रास्वपाका प्रदेश अनुगमन विभागका उपाध्यक्ष तथा समाजसेवी विजय भगत प्रमुख अतिथिका रूपमा उपस्थित थिए। प्रतियोगितामा लोहरपट्टी नगरपालिकाभित्रका नौवटा टोलीले सहभागिता जनाएका थिए।
फाइनल खेलमा टस जितेर भमरपूराले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको महदैया टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७६ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। महदैया टोलीका प्रशान्त साहनीले विस्फोटक ब्याटिङ प्रदर्शन गर्दै मात्र ३४ बलमा ८ छक्का र ३ चौकाको मद्दतले सर्वाधिक ७३ रन बनाए। त्यस्तै दिलिप साहनीले १२ बलमा अविजित २८ रन तथा मोसाहिदले २४ रनको महत्वपूर्ण योगदान दिए। प्रशान्तको आक्रामक ब्याटिङले महदयैयालाई बलियो योगफल खडा गर्न महत्वपूर्ण सहयोग पुर्याएको थियो।
१७७ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको भमरपुरा टोली महदैया टोलीका बलरहरूको कसिलो बलिङसामु टिक्न सकेन। भमरपुराले १५.३ ओभरमा सबै विकेट गुमाउँदै १०७ रन मात्रै बनाउन सक्यो। भमरपुराका लागि अभिषेकाले सर्वाधिक २२ रन तथा रोशन मण्डलले १३ रन बनाए। अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन नसकेपछि भमरपुरा ६९ रनले पराजित हुन पुग्यो। यससँगै महदैया टोलीले उत्कृष्ट ब्याटिङ र बलिङको समन्वय प्रस्तुत गर्दै प्रतियोगिताको उपाधि उचाल्यो।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा विजेता र उपविजेता टोलीलाई नगद पुरस्कारसहित कप तथा सम्मान प्रदान गरिएको थियो। उपाधि विजेता महदैया टोलीलाई ४० हजार रुपैयाँको चेक तथा विजेता कप प्रदान गरिएको थियो भने उपविजेता भमरपुरा टोलीलाई २० हजार रुपैयाँको चेक प्रदान गरिएको थियो। विजेता महदैया टोलीलाई प्रमुख अतिथि विजय भगत र कार्यक्रमका अध्यक्ष धीरेन्द्र यादवले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत विभिन्न विधागत पुरस्कारबाट सम्मान गरिएको थियो। फाइनल खेलमा ७३ रनको उत्कृष्ट इनिङ्स खेलेका प्रशान्त साहनी म्यान अफ द म्याच घोषित भए। त्यस्तै दिलिप साहनीले म्यान अफ द सिरिज तथा बेस्ट बलरको उपाधि हात पारे। सोनु बेस्ट ब्याट्सम्यान, जीवन यादव बेस्ट फिल्डर र एस्पाक बेस्ट विकेटकिपर घोषित भए।श्री गेउरकाधाम स्पोर्टस् क्लबका अध्यक्ष तथा रास्वपाका क्षेत्रीय सभापति धीरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रमुख अतिथि विजय भगतले स्थानीयस्तरमा खेलकुदको विकास र युवाहरूको प्रतिभा पहिचानका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए। कार्यक्रममा खेलाडी, आयोजक, स्थानीय खेलप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
लोहरपट्टी नगरपालिकाभित्रका नौवटा टोलीबीच प्रतिस्पर्धा भएको यस प्रतियोगिताले स्थानीय क्रिकेट खेलको विकास, युवा खेलाडीहरूको प्रतिभा पहिचान तथा खेलकुदप्रतिको आकर्षण अभिवृद्धिमा योगदान पुर्याएको छ। महदैया टोलीको शानदार जितसँगै प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।





