मनिषा मण्डल
सुखीपुर (सिरहा) । सिरहाको सुखीपुर नगरपालिका–३ चरारी गाउँमा ग्यास सिलिन्डरबाट ग्यास लिक भई आगलागी हुँदा वडा सदस्य अनिल सिंहको घर तथा घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । आज बिहान ११ बजेर ४० मिनेटमा भएको आगलागीबाट ४६ लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको पीडित सिंहले जानकारी दिनुभयो ।
ग्यास सिलिन्डरबाट ग्यास लिक भएपछि अचानक आगो लागेको थियो । आगलागीमा घरमा रहेका लत्ताकपडा, अन्नबाली, फर्निचर, स्टिल दराज, ५ तोला सुन, ९० तोला चाँदी र नगद रकमलगायतका सामग्री जलेर नष्ट भएका छन् ।
आगलागीको खबर पाएलगत्तै स्थानीयवासी र प्रहरी घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरेका थिए। स्थानीयवासी र प्रहरीको सक्रियतामा बारुण यन्त्रको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ । तर घर तथा घरभित्र रहेका बहुमूल्य सामग्री जलेर नष्ट हुँदा पीडित परिवारलाई ठूलो आर्थिक क्षति पुगेको छ। पीडित वडा सदस्य सिंहका अनुसार आगलागीबाट ४६ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति नष्ट भएको छ ।
आगलागीबाट घरबार तथा दैनिक उपभोगका सामग्री गुमाउनुपर्दा पीडित परिवार समस्यामा परेको छ । घटनापछि पीडित परिवारलाई राहत तथा सहयोगको आवश्यकता देखिएको छ ।






