
जनता टुडे
जनकपुरधाम मंसिर ६
एक करोड रुपैयाँको ऋण कारोबारका क्रममा धितो राखिएको जग्गा अन्य व्यक्तिलाई बिक्री गरिएको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–४ निवासी शिवशंकर प्रसाद साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका पीडित भनिएका धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ निवासी सुरेन्द्र कुमार यादवले भने आफ्नो जग्गा फिर्ता र निष्पक्ष न्यायको माग गरेका छन्।
यादवका अनुसार उनले आफ्ना बाबुको नाममा जनकपुरस्थित साह ज्वेलर्सका सञ्चालक शिवशंकर प्रसाद साहसँग एक करोड रुपैयाँ ऋण लिएका थिए। उक्त कारोबारको सुरक्षाका लागि उनले दुई ठाउँको जग्गा धितोस्वरूप दिएका थिए। तीमध्ये एउटा जग्गा कारोबारको हिसाब चुक्ता भएपछि फिर्ता भए पनि महेन्द्रनगरस्थित राजमार्गसँग जोडिएको अर्को जग्गा भने अझै फिर्ता नभएको उनको भनाइ छ।
यादवको आरोपअनुसार धितोस्वरूप दिएको उक्त जग्गा एक साताभित्रै उनको जानकारी तथा सहमतिबिना अन्य व्यक्तिलाई बिक्री गरिएको थियो। यस विषयमा पटक–पटक छलफल गरी जग्गा फिर्ताका लागि आग्रह गर्दा पनि समस्या समाधान नभएपछि आफू प्रहरीसमक्ष पुगेको उनले बताएका छन्।
यादवले दिएको जाहेरीका आधारमा प्रहरीले साहलाई आज उनको पसलबाट नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा बुझाएको जनाएको छ। यसअघि जिल्ला प्रहरी कार्यालय धनुषाले घटनासम्बन्धी अनुसन्धानका लागि धनुषा जिल्ला अदालतसमक्ष पक्राउ अनुमति माग गरेको पत्रसमेत जारी गरेको थियो।
यसैबीच, पीडित यादवले पत्रकार सम्मेलन गर्दै घटनाको निष्पक्ष, पारदर्शी र प्रभावरहित अनुसन्धान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। आर्थिक चलखेल, पहुँच वा अन्य कुनै प्रभावका कारण अनुसन्धान प्रभावित हुने तथा आफू न्यायबाट वञ्चित हुने अवस्था सिर्जना नहोस् भन्दै उनले प्रहरी प्रशासन र नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।
यादवले कारोबारसम्बन्धी लिखित कागजात, हिसाबकिताब तथा साहले आफ्नै हातले लेखेर दिएको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका छन्। आफूले लिएको रकमको हिसाब चुक्ता गर्न तयार रहेको उल्लेख गर्दै उनले धितोस्वरूप दिएको महेन्द्रनगरस्थित जग्गा कानुनबमोजिम फिर्ता गराउन माग गरेका छन्।
“मैले एक करोड रुपैयाँको कारोबार गर्दा दुई ठाउँको जग्गा धितो दिएको थिएँ। एउटा जग्गा हिसाब चुक्ता भएपछि फिर्ता भयो, तर महेन्द्रनगरको जग्गा अझै फिर्ता भएको छैन। मसँग कारोबारको लिखित प्रमाण र सम्पूर्ण हिसाबकिताब सुरक्षित छ। मेरो जग्गा फिर्ता होस् र मैले न्याय पाऊँ,’ यादवले आग्रह गरेका छन्।
उनले अनुसन्धान तथा न्यायिक प्रक्रिया पूरा नभएसम्म कुनै पनि आर्थिक चलखेल वा प्रभावका आधारमा घटनालाई कमजोर नबनाउन र कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग अपिल गरेका छन्।
यादवको मुख्य माग आफ्नो जग्गाको कानुनी अवस्था स्पष्ट पार्दै जग्गा फिर्ताको प्रक्रिया अघि बढाउनु, कारोबारको निष्पक्ष छानबिन गर्नु र न्याय सुनिश्चित गर्नु रहेको छ।
यद्यपि, धितो राखिएको जग्गा बिक्री गरिएको विषय, कारोबारको वास्तविक अवस्था तथा दुवै पक्षबीचको आर्थिक हिसाबसम्बन्धी आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ। यस विषयमा शिवशंकर प्रसाद साहको प्रतिक्रिया प्राप्त भएको छैन। आरोपको सत्यता र कानुनी दायित्वबारे अन्तिम निर्णय सम्बन्धित अनुसन्धान तथा न्यायिक प्रक्रियाबाटै हुने प्रहरीले जनाएको छ ।





