विन्दे यादव
सिरहा / सुखीपुर नगरपालिका–८ निवासी नेकपा (एमाले)का ज्येष्ठ, कर्मठ, इमानदार तथा लामो समयदेखि पार्टीप्रति समर्पित रहँदै आएका नेता रामअशिष साहको ८३ वर्षको उमेरमा निधन भएको छ ।

साहको निधनसँगै नेकपा (एमाले)ले एक अनुभवी अभिभावक तथा समर्पित योद्धा गुमाएको भन्दै सम्पूर्ण पार्टी पंक्ति शोकमा डुबेको जनाएको छ । पार्टीप्रति उहाँले पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै स्थानीय नेता तथा कार्यकर्ताहरूले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

दिवंगत साहको पार्थिव शरीरमा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम अवतार यादव तथा नेकपा (एमाले) सुखीपुर नगर कमिटीका सचिव विन्दे यादव, जिल्ला सदस्य राम किशुन यादव र वडा कमिटी अध्यक्ष महेश कुमार साह लगायतका नेताहरुले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

त्यसपछि हिन्दू परम्पराअनुसार सुखीपुरस्थित गागैन घाटमा उहाँको अन्त्येष्टि गरिएको थियो । अन्तिम विदाइ कार्यक्रममा जनप्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

दिवंगत साहको योगदानलाई स्मरण गर्दै उपस्थित वक्ताहरूले उहाँको समर्पण, इमानदारी र पार्टीप्रतिको निष्ठा भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय