राेयाण्टर मण्डल
सिरहा । गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी लहान नगरपालिकाले खाद्य सामग्री वितरण गरेको छ।

पोषण अभावका कारण गर्भवती महिलामार्फत गर्भस्थ शिशुमा कुपोषण नहोस् भन्ने उद्देश्यले नगरपालिका हरेक महिनाको २२ गते ‘सुत्केरी तथा गर्भवतीका लागि पोषण प्याकेज’ अन्तर्गत राहत वितरण गर्दै आएको छ ।

 

नगर क्षेत्रका विभिन्न वडाबाट स्वास्थ्य चौकी र वडा कार्यालयमा दर्ता भएका सुत्केरी तथा गर्भवती महिलालाई चामल, दाल, नुन, चना, तेल लगायतका खाद्य सामग्री वितरण गरिने नगरपालिकाले जनाएको छ ।

सोही क्रममा आज लहान–२३ गढास्थित स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा १ सय ५ जना गर्भवती तथा सुत्केरी महिलालाई खाद्य सामग्री बितरण गरिएको हो। कार्यक्रममा नगर प्रमुख महेशप्रसाद चौधरीले स्वयं सामग्री हस्तान्तरण गरेका थिए ।

‘गर्भावस्थामा पोषणयुक्त आहार अपरिहार्य हुन्छ,’ सामग्री वितरण गर्दै नगर प्रमुख चौधरीले भने, ‘तर मजदुरीमा आश्रित विपन्न परिवारलाई दैनिक भोजन नै कठिन हुन्छ। कम्तीमा नगरले दिएको सामग्रीले केही दिन सहज हुन्छ र काम गर्न सक्नेलाई थप जोहो गर्न मद्दत मिल्छ ।’

उनका अनुसार स्वास्थ्य चौकीमा रहेको रेकर्डका आधारमा वितरण गर्दा नियमित स्वास्थ्य जाँचमा सहभागी हुने प्रवृत्ति बढ्ने भएकाले वडा कार्यालय र स्वास्थ्य चौकीको समन्वयमा यो कार्यक्रम निरन्तर भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय