राेयाण्टर मण्डल
लहान (सिरहा) / जन्मदिन मनाउने धेरै तरिका हुन्छन्, तर जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास सारडाले यसपटक जन्मदिनलाई ‘अर्थपूर्ण’ बनाउन एक युवकको भविष्यसँग जोडिएको निर्णय लिनुभयो ।
उहाँले एमबिबिएस छात्रवृत्तिमा नाम निकाल्न सफल सत्यनारायण साफीलाई पाँच वर्षका लागि हरेक महिना १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो । सहमति पत्रमा सही–छाप गराएर गरिएको यो निर्णयले कुल ६ लाख रुपैयाँ सहयोग पुग्नेछ ।
बरियारपट्टी गाउँपालिका–३ श्रीपुर गाउँसम्म पुग्न हुलाकी राजमार्गको चिसो हावा छिचोल्दै करिब तीन किलोमिटर यात्रा गर्नुपर्छ । गाउँको भित्री बस्तीमा छ एउटा सानो, बर्खामा चुहिने र हावामा हल्लिने छाप्रो—यही छाप्रो भित्र जन्मिएको थियो डाक्टर बन्ने ठूलो सपना बाेकेका २१ वर्ष सत्यनारायण साफी ।
दैनिक ज्यालामजदुरीमै घर खर्च चलाउने मधुरी साफीको परिवार। यस्तै कठोर जीवनका बीच सत्यनारायणले एसईईदेखि कक्षा १२ सम्मको पढाइ पूरा गरे। अनि महानगर काठमाडौंमा गएर एमबिबिएस प्रवेश तयारी सुरु गरे । तर, सपनाले चाहेजति मार्ग सजिलो भएन । तीन महिनामै आर्थिक अभावले उनलाई काठमाडौं छाड्न बाध्य बनायो । उता कतारमा काम गरिरहेका उनका बुबा बेरोजगार भएर घर फर्केपछि परिवारको बोझ झन् बढ्यो ।
त्यसपछि सुरु भयो एउटा कठीन तर प्रेरणादायी यात्रा—
दिउँसो मजदुरी, राति किताब।
मजदुरीबाट बचाएको पैसाले प्रवेश तयारीका पुस्तक ।
थोरै–थोरै गरेर जोडिएको पैसाले फेरि काठमाडौं पुगेर प्रवेश परीक्षा दिए । र अन्तत:- पहिलो प्रयासमै दलित कोटाबाट पूर्ण छात्रवृत्तिमा एमबिबिएसमा नाम !
उनको संघर्ष, समर्पण र सफलताले अहिले सामाजिक सञ्जालदेखि गाउँभरि चर्चा छ । यही संघर्षले अध्यक्ष सारडालाई समेत छोयो, जसले पाँच वर्षको शैक्षिक सहयोगको घोषणा गर्नुभयो ।
सानो छाप्रोबाट सुरु भएर अस्पतालको सेतो कोटासम्म पुग्ने सत्यनारायणको यात्रा आज हजारौं युवा–युवतीका लागि आशा र हौसला बन्न पुगेको छ ।





