
जनता टुडे
जनकपुरधाम कार्तिक २०
जनकपुरधाम उपमहानगरपालिका–२४, बसहियास्थित श्री गोगल नमुना माध्यमिक विद्यालयमा नवगठित विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघका पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।
दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका बीच नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघ दुवै सफलता पुर्वक गठन भएकोले पदाधिकारीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
उनले श्री गोगल नमुना माध्यमिक विद्यालय देशकै उत्कृष्ट दुई प्रतिशत विद्यालयमहरुध्येकाे विधालय हो भन्दै विद्यालयको शैक्षिक उपलब्धि प्रशंसनीय रहेको बताए। विद्यालयले हासिल गरेको सफलता शिक्षक, कर्मचारी, अभिभावक, व्यवस्थापन समिति, स्थानीय समुदाय तथा सहयोगी दाताहरूको सामूहिक प्रयासको परिणाम भएको उनको भनाइ थियो।
मेयर साहले विद्यालयको शैक्षिक गुणस्तरलाई थप उचाइमा पुर्याउन सबै पक्षबीच सहकार्य, समन्वय र जिम्मेवारीबोध आवश्यक रहेको बताउँदै विद्यालयको प्रगति भौतिक पूर्वाधारमा मात्र नभई गुणस्तरीय शिक्षा, विद्यार्थीको अनुशासन र शैक्षिक उपलब्धिमा समेत देखिनुपर्नेमा जोड दिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महावीर दासले विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रिया अझै जटिल रहेको औँल्याए। उनले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्रका अधिकांश विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको अवस्था रहेको उल्लेख गर्दै समिति गठन नहुँदा विद्यालयको संस्थागत निर्णय प्रक्रिया तथा व्यवस्थापकीय कामकारबाहीमा समेत कठिनाइ हुने गरेको बताए।
विद्यालयको प्रभावकारी सञ्चालन, संस्थागत विकास र कानुनी प्रक्रियाअनुसार कार्यसम्पादनका लागि विद्यालय व्यवस्थापन समितिको गठन र सक्रियता अपरिहार्य रहेको उनको भनाइ थियो।
प्रमाणपत्र ग्रहण गर्दै नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शत्रुधन प्रसाद शर्माले विद्यालयको विकासका लागि शुद्ध नियत, सकारात्मक सोच र सामूहिक उद्देश्य आवश्यक रहेको बताए।
उनले भने, “हाम्रो नियत सफा हुनुपर्छ। शुद्ध नियतले काम गर्दा विद्यालयको विकास सम्भव हुन्छ। विद्यालयको विकास कुनै एक व्यक्तिको प्रयास वा सहयोगले मात्र भएको होइन। यसमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा धेरै व्यक्तिको योगदान रहेको छ। विद्यालयको उन्नतिमा सहयोग पुर्याउने सबैप्रति म हार्दिक आभार व्यक्त गर्दछु।”
अध्यक्ष शर्माले विद्यालयको शैक्षिक तथा संस्थागत विकासका लागि शिक्षक, अभिभावक, स्थानीय समुदाय र सरोकारवाला सबैसँग सहकार्य तथा समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
विद्यालय प्रशासनका अनुसार शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनअन्तर्गत नियम ३० बमोजिम गौरीशंकर मण्डलको अध्यक्षतामा ११ सदस्यीय शिक्षक–अभिभावक संघ गठन गरिएको हो। कार्यक्रममा नवगठित विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघका पदाधिकारीहरूलाई औपचारिक रूपमा प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाकी शिक्षा शाखा प्रमुख अञ्जु पाण्डेय, वडा नम्बर २४ का अध्यक्ष शेषनाथ मण्डल, एकाइ प्रमुख प्रताप सिंह धामी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शत्रुधन प्रसाद शर्मा, प्रधानाध्यापक महावीर दास तथा विद्यालयका सहयोगी चन्दादाता सुरेन्द्र प्रसाद ठाकुरलगायत शिक्षक, अभिभावक, स्थानीय समाजसेवी र गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले विद्यालयको शैक्षिक उन्नति कुनै एक व्यक्ति वा निकायको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि र समुदायबीचको एकता तथा सामूहिक जिम्मेवारीले मात्र विद्यालयलाई थप उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सकिने धारणा व्यक्त गरे।
नवगठित विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत पारदर्शिता, सुशासन र विद्यार्थीमैत्री वातावरण निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।





