राेयाण्टर मण्डल
सुखीपुर (सिरहा) / धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला पानी नपरेपछि सिरहाको सुखीपुरलगायत तराईका किसानहरू चिन्तित बनेका छन् ।
अकाशे पानी नपरेपछि धेरै किसानहरू सिँचाइका लागि सानो ट्युबेल र मोटर पम्पको सहारा लिएर रातदिन पानी हालेर रोपाइँ गरिरहेका छन्। तर, सिँचाइ सुविधा नभएका किसानहरू भने अकाशे पानीको पर्खाइमा छन् ।
यसै सन्दर्भमा गाउँघरका महिलाहरूले परम्परागत ‘जाट-जटिन’ नृत्य खेल्दै भगवान इन्द्रलाई प्रसन्न पार्न गीत–संगीत र नाचगानमार्फत वर्षा मागिरहेका छन् ।
सिरहाको सुखीपुर नगरपालिका–८ स्थित कुम्हाले टोलमा महिलाहरू प्रत्येक रात अकाशे पानीको आशामा ‘जाट-जटिन’ नृत्य गर्दै आएका छन् ।
सांस्कृतिक विविधताले भरिपूर्ण तराई क्षेत्रमा वर्षायामको सुरुवातसँगै मनाइने यो लोकसंस्कृति नृत्य र नाटकको संयोजन हो, जुन विशेषगरी मिथिला क्षेत्रका समुदायहरूमा प्रचलित छ ।
‘जाट-जटिन’ नृत्य केवल मनोरञ्जनको साधन होइन, यसले सामाजिक, पारिवारिक एकताको सन्देश पनि दिन्छ। दुई समूहमा विभाजित महिलाहरूले एक पक्षबाट ‘जाट’ र अर्कोतर्फ ‘जटिन’को भूमिका निर्वाह गर्दै गीतमार्फत संवाद र बहस गर्छन्। अन्ततः उनीहरूले भगवान इन्द्रसँग पानीको माग गर्ने परम्परा निभाउँछन् ।
सुखीपुरकी उर्मिला पण्डितका अनुसार, “इन्द्र भगवान खुसी भए पानी पर्छ भन्ने मान्यताका साथ महिलाहरूले विभिन्न पहिरनमा सजिएर परम्परागत शैलीमा नाचगान गर्छन् ।”
यो परम्परा जलवायु र वातावरणीय सन्तुलनसँग जोडिएको सांस्कृतिक चेतना हो, जसले आज पनि ग्रामीण समाजमा आस्था र एकताको भावनालाई जीवित राखेको छ।





