मनिषा मण्डल
सिरहा। सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वाको पशु हाटबजार परिसरमा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहट जिल्ला झिङ्गहर्वा–२ स्थायी घर भई हाल गोलबजार–७ मा डेरा गरी बस्दै आएका अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ८ वर्षीय छोरा साफुल शेख रहेका छन् ।

स्थानीयका अनुसार कवाडी संकलन गरी जीविकोपार्जन गर्दै आएका अवास शेखका पाँच सन्तानमध्ये तीन जना आइतबार दिउँसो करिब २स्३० बजे घरबाट खेल्न निस्किएका थिए । खेल्ने क्रममा उनीहरू सडक निर्माणका लागि खनिएको पानी जमेको खाल्डोमा डुबेका थिए।

स्थानीय मनोज महतोका अनुसार घटनाबारे जानकारी पाएलगत्तै स्थानीयवासीले तीनै जनालाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा पुर्‍याएका थिए। तर स्वास्थ्यकर्मीले उनीहरूलाई मृत घोषणा गरेका थिए ।

घटनापछि प्रहरीले अझै अन्य बालबालिका पनि डुबेको हुन सक्ने आशंकामा दमकलको सहयोगमा खाल्डोको पानी निकाल्ने काम गरेको जनाएको छ। मृतकहरूको शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यस घटनापछि स्थानीयवासीले सडक निर्माणका क्रममा जथाभावी माटो खनेर ठूलो खाल्डो बनाइएकाले दुर्घटना भएको आरोप लगाएका छन्। स्थानीय मनोज सिंहका अनुसार बस्ती नजिक सरकारी जग्गाबाट माटो नखनिदिन पटक–पटक आग्रह गर्दा पनि निर्माण उपभोक्ता समितिले बेवास्ता गरेको थियो ।

उनले भने, “हामीले गाउँ नजिक भएकाले यहाँ माटो नखनिदिन भनेका थियौं, तर उपभोक्ता समितिले जबर्जस्ती माटो निकाल्यो ।”

स्थानीयले जनप्रतिनिधिको संरक्षणमा आवश्यकताभन्दा बढी माटो उत्खनन गरिएको र वास्तविक आवश्यकता नै नभएको स्थानमा सडक निर्माण गरिएको आरोपसमेत लगाएका छन्। उनीहरूको भनाइमा उक्त सडकको खास प्रयोजन नभई निजी जग्गाको प्लटिङलाई सहज बनाउन निर्माण गरिएको हो ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय