सुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनीपुरमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी लहान नगरपालिका–२२ जहदी निवासी मुन्ना चौधरी उपचार खर्च अभावका कारण समस्यामा परेकी छन् ।
गत वैशाख २७ गते घरबाट धनगढी बजारतर्फ साइकलमा जाँदै गरेकी बेला नम्बर खुल्न नसकेको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । दुर्घटनापछि मोटरसाइकल चालक घटनास्थलबाट फरार भएको बताइएको छ ।
दुर्घटनामा चौधरीको टाउको, छाती तथा घाँटीमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिएको छ । हालसम्म टाउको, छाती र घाँटीको शल्यक्रिया तथा उपचारमा करिब १२ लाख रुपैयाँ खर्च भइसकेको छ ।
घाइतेका आफन्त प्रविण चौधरीका अनुसार अस्पताल तथा औषधि खर्चबापत अझै करिब ९ लाख रुपैयाँ तिर्न बाँकी रहेको छ । शल्यक्रियापछि मुन्ना चौधरीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आए पनि बाँकी रकम भुक्तानी गर्न नसक्दा अस्पतालबाट डिस्चार्ज हुन समस्या भइरहेको उनले बताए ।
आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन कठिनाइ भइरहेको भन्दै परिवारजनले सबै सहयोगी मन, संघसंस्था तथा शुभेच्छुकहरूलाई सहयोगका लागि हार्दिक अनुरोध गरेका छन् ।
सहयोग गर्न इच्छुक व्यक्तिहरूले मुन्ना चौधरीको नाममा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर ३०००७०१००७४९८० मा रकम जम्मा गर्न सक्नेछन् ।

परिवारले सानो–सानो सहयोगले पनि बिरामीको उपचारमा ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेको छ ।





