रंजिता सिंह
लहान / सहारा नेपालद्वारा सिरहाको लहानमा आयोजना गरेको पाँच दिने वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम बिहिवार सम्पन्न भएको छ |
JOA को आर्थिक सहयोग तथा ह्याबिटयाट नेपालसंगको साझेदारीमा सहारा नेपालद्वारा कोशी र मधेश प्रदेशमा संचालित होम्स नेपाल परियोजना अन्तर्गत सामुदायिक सहजकर्ताहरुका लागि बैशाख ६ गतेदेखि १० गतेसम्म संचालन गरिएको सो तालिममा धनुषा, सिरहा, सप्तरी, उदयपुर र सुनसरी जिल्लाका गरि १७ वटा स्थानीय तहबाट २१ जना सामुदायिक सहजकर्ता र परियोजनाका कर्मचारीहरुको सहभागिता रहेको सहारा नेपालका अनुगमन, मूल्यांकन, जवाफदेहिता र सिकाई अधिकृत धर्मानन्द ठाकुरले जानकारी दिनुभयो ।
वित्तीय साक्षरता तथा सुरक्षित आवास सम्बन्धि तालिम सहजीकरण गर्नका लागि स्थानीय स्तरमा नै दक्ष प्रशिक्षक उत्पादन गर्नु, हेबिटयाट नेपालको कार्यक्रम लागु भएका क्षेत्रका सेवाग्राही र विपन्न परिवारमा वित्तीय साक्षरता तथा सुरक्षित आवास समबन्धि ज्ञान र सिप पुर्याउनु, स्थानीय सहजकर्ताको माध्यमबाट विपन्न समुदायको वित्तीय ब्यबहारमा परिबर्तन ल्याउन सहयोग पुर्याउन, तालिमको माध्यमबाट वित्तीय साक्षरताको ज्ञान र सीपलाई ब्यबहारमा लागु गरि आर्थिक सम्पन्नता हासिल गर्न समुदायलाई उत्प्रेरित गर्न, सुरक्षित घर निर्माण गर्नका लागि आवश्यक मार्गदर्शन गर्ने सूचनाहरु समुदायमा पुर्याउने जस्ता बिषयमा सामुदायिक सहजकर्ताहरुमा सहजीकरण गर्ने सिपको विकास गराउने उदेश्यले संचालन गरिएको सो तालिममा सहारा नेपालका होम्स परियोजना ब्यबस्थापक किशन गौतम, हेबिटयाट नेपालको कार्यक्रम संयोजक माधव चौरेल र अनुग्या मिश्रले सहजिकरण गर्नुभएको थियो ।

तालिमका क्रममा वित्तीय साक्षरताको आधारभूत अवधारणा, आवश्यकता र चाहनाबीचको अन्तर, पारिवारिक आर्थिक योजना तथा लक्ष्य निर्धारण, आम्दानी-खर्च विश्लेषण र बजेट निर्माणजस्ता महत्वपूर्ण विषयहरू समेटिएका थिए। सहभागीहरूले दैनिक खर्च अभिलेखीकरण, बचत गर्ने तरिका, ब्याज गणना तथा ऋण व्यवस्थापनका व्यवहारिक पक्षहरूमा पनि अभ्यास गरेका थिए।
तालिममा वित्तीय सेवा प्रदायकहरूको परिचय, औपचारिक तथा अनौपचारिक सेवाहरू, डिजिटल बैंकिङ सेवा र यसको सुरक्षित प्रयोगबारे जानकारी दिइएको थियो। त्यस्तै, रेमिटेन्सको सही उपयोग, सूक्ष्म उद्यम विकास तथा व्यवसाय योजना निर्माणका विषयहरूमा समेत सत्रहरू सञ्चालन गरिएका थिए।
यस्तै जोखिम व्यवस्थापन, बीमा, सुरक्षित आवास व्यवस्थापन तथा गुनासो व्यवस्थापन प्रणाली जस्ता विषयहरूमा गहिरो छलफल भएको थियो। सहभागीहरूलाई सहजिकरण गर्ने व्यवहारिक सीप अभिवृद्धि गराउने उद्देश्यले सुक्ष्म शिक्षण अभ्यास गराइएको थियो, जसमा सहभागीहरूले विभिन्न विषयमा प्रस्तुति दिएका थिए।
सहारा नेपालका कार्यसमिति सदस्य ध्यान बहादुर भारतीको अध्यक्षता तथा कार्यसमिति सदस्य फडिन्द्र भण्डारीको बिशेष आतिथ्यतामा भएको तालिममको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। प्रशिक्षक तथा सहभागीहरूले तालिम उपयोगी, व्यवहारिक र समुदायस्तरमा प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।
सहारा नेपालका होम्स नेपाल परियोजनाका सिराहा जिल्ला अधिकृत रामभरोसी महतोका अनुसार, यस प्रकारका तालिमले समुदायमा वित्तीय सचेतना अभिवृद्धि गर्दै दिगो आर्थिक व्यवस्थापनतर्फ महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।






