राेयाण्टर मण्डल
सुखीपुर (सिरहा) / ईस्वी संवत् २०२६ को नयाँ वर्ष मनाउन विहिबार बिहानैदेखि सिरहाको सुखीपुर बजारमा खसीको मासु किन्न उपभोक्ताको ठूलो भिड लाग्दा खसीको मासु अभाव देखिएको छ ।
मासु पसलमा बिहानैदेखि लाइन लागे पनि धेरै उपभोक्ता खाली हातै फर्किन बाध्य भएको सुखीपुर–१० का बिरेन्द्र यादव बताउँछन् ।
श्रृजनशील पाठशाला सुखीपुरका संचालक मनित चौधरी घण्टौँ प्रतीक्षापछि मासु पाएर खुशी भएको अनुभव सुनाउँछन् । तर कतिपय उपभोक्ताले भने लामो समय पर्खिए पनि मासु नपाएको गुनासो गरे ।
स्थानीय पत्रकार ओम प्रकाश गुप्ताका अनुसार सुखीपुर बजारका झन्डै एक दर्जन मासु पसलमा उपभोक्ताको अत्यधिक चाप देखिएको थियो ।
सुखीपुर–८ स्थित द सुखीपुर फ्रेस हाउसका संचालक तालेश्वर यादवका अनुसार नयाँ वर्षका लागि मात्र सुखीपुर नगरपालिका भरिमा करिब १ सय ५० वटा खसी काटिए पनि माग पूरा हुन सकेन ।
खसीको मासु नपाएपछि धेरै उपभोक्ता कुखुराको मासुतर्फ आकर्षित भए। कुखुरा र माछा पसलहरूमा पनि समान रूपमा भीड बढेको भेटियो ।





