विजय साह
लहान (सिरहा), । लहान नगरपालिका वडा नम्वर ३ अस्पताल चौक स्थित महाशक्ति मेडिको नामक औषधी पसलमा औषधी तथा मेडिकल सामग्रीको मूल्यमा व्यापक कालोबजारी भइरहेको खुलासा भएको छ।

उपभोक्ताहरूबाट प्राप्त गुनासोअनुसार सो मेडिकल पसलले वास्तविक मूल्यभन्दा धेरै महँगो दरमा सामग्री बिक्री गर्दै आएको छ।

एक उपभोक्ताका अनुसार, उक्त मेडिकल पसलमा सामान्य सर्जिकल ड्रेसिङ टेपको मूल्य ६० रुपैयाँ लिइएको थियो, जुन वास्तविक खरिद मूल्य २५/३० रुपैयाँ मात्र पर्ने बुझिएको छ। सोही पसलमा यही टेप खरिद गर्न जाँदा सुरूमा ६० रुपैयाँ भनिए पनि केही मोलमोलाइपछि ५० रुपैयाँमै दिन सकिने जानकारी दिइयो। अन्य पसलहरूमा भने सोही टेप ३० रुपैयाँमै उपलब्ध रहेको प्रमाणित भएको छ।

सम्बन्धित मेडिकल पसलका साहुले ग्राहकको सोधपुछलाई अपमानजनक रूपमा अस्वीकार गर्दै धम्क्याउनेसमेत गरेको गुनासो छ। यसरी खुलेआम उपभोक्ताहरूलाई ठग्ने कार्य भइरहेको हुँदा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु आवश्यक देखिएको छ।

स्थानीय उपभोक्ताहरूले औषधी व्यवस्था विभाग, उपभोक्ता हित संरक्षण कार्यालय तथा स्थानीय प्रशासनसँग यस्ता अनियमितताविरुद्ध तत्काल कडा कारबाही गर्न माग गरेका छन्। साथै, लहानका अन्य मेडिकल पसलहरूमा पनि नियमित अनुगमन गर्नुपर्ने आवाज उठेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय