उद्धवबहादुर के.सी.( ज्वालामुखी 
आज २०८१ माघ ५ गते पवित्र दिन शनिबार लहानको बलिदानी दिवसमा सहभागी भइयो । उपस्थिति र सहभागिता राम्रो थियो । यद्यपि जाडोको कारणले उपस्थिति न्यून रहेको मान्न सकिन्न । कार्यक्रम विभिन्न ठाउँमा आयोजना भएकोले त्यस्तो हुन सक्छ ।

मधेस भनेको निश्चित भूमि भएको स्थान विशेषलाई जनाउँछ ।   मधेस शब्द ,  माओवादी आन्दोलनको दौरान  राजनीतिक  रुपले व्यापक प्रसिद्धि पाएको हो । यो शब्दसंग परिचित शिक्षित व्यक्तिले मधेसबारे छलफल सभा गोष्ठी तथा राज्यबाट हकअधिकार स्थापित गराउन संघर्षरत छन् । कतिपय  समुदायका मानिस मधेस शब्दसंग परिचित छैनन् । यस्तो स्थितिमा उ मधेस भित्रको पीडित मधेसी हुन कि होइन ?

समुदायको कुनै एक मधेसी जो आर्थिक रुपले सबल , राजनीतिक रुपले सचेत , सचेत भएकै कारण पढाउने र पढ्ने अवसर पाएकोले उच्च स्तरको रोजगारीको अवसर पाएर मधेसको बासी हाल काठमाडौंबासी भएको छ ।  उ काठमाडौं मात्र होइन लण्डन पनि बस्न पाउँछ । पछिल्लो समय  युग अनुसार देशले फड्को मार्न नसकेकोले अवसरको खोजीमा अब्बल दर्जाका नागरिकहरु सदाका लागि विदेश पलायन गरिरहेका छन् । के ती पीडित हुन् ? जसको भएपनि पीडा त पीडा हो । किनकि हामी समान हकको कुरा गरिरहेका छौं । कर्तव्य मौन छ यहाँ । बदलामा ठगी र ढाँट प्रवृति छ । ती ठग्ने र ढाँट्नेहरुलाई पीडित कदापि मान्न सकिन्न । ती त अपराधी हुन् ।

आखिर पीडित को हो ? मधेसमा मातृभाषा फरकफरक भएकाहरु बसोबास गर्छन् ।  के मैथिली , भोजपुरी , हिन्दी , अवधी , मगही वा माडबारी भाषा  बोल्नेहरु मात्र मधेसका मधेसी हुन् ।

पीडित हुनुको कारण के ? को को पीडित हो ? किन पीडित हो ?  कसको कारणले पीडित हो ?  कहिलेदेखि पीडित हो ? जातिगत हिसावले पीडित कि आर्थिक हैसियतको हिसावले पीडित कि शिक्षाबाट बञ्चित भएको कारणले पीडित हो ?  के स्वास्थ्य र सुरक्षाको अभावको कारणले पीडित हो ? आखिर पीडितको कारण के हो ? पीडा दूर गर्ने प्रयास भएका छन् कि छैनन् ?

पहिलो कुरा त पीडा , विभेद ( सामाजिक , आर्थिक , राजनीतिक , शैक्षिक , भौगोलिक , साँस्कृतिक जातिय विभेद ) अभाव , पछौटेन , गरीबी , अशिक्षा लगायतका दुर्गुणहरु  व्यक्तिको होइन ; राष्ट्रका समस्या हुन् । यहाँ एउटा समुदायप्रति अन्याय भयो भनेर अर्को  टाठाबाठा ( आर्थिक तथा  सामाजिक सम्पन्नता , शैक्षिक र राजनीतिक रुपले सचेत व्यक्तिहरुको समुदाय ) ले राज्यको विभिन्न तहमा अवसर पाउँछन् , पहुँच पाउँछन् । तर त्यसरी नै समुदायका विभिन्न जातजाति , धर्म , लिङ्ग , वर्ण , भूगोलमा बसोबास गर्नेहरुको पीडा दूर गर्न अवसर प्रदान गर्नुपर्यो । अवसर भनेको संसद भवनमा बहुमत पुर्याउन दलितबाट कसैलाई मुर्ति बनाउन भनेको होइन । अपितु उसलाई ३ चुनावी कार्यकाल  ( १५ वर्ष ) भित्र योग्य र सक्षम बनाएर अवसर प्रदान गरौं भन्न खोजेको हो । १५ वर्षमा उ स्नातकोत्तरको शिक्षा हासिल गर्न सक्छ । हाइस्कुल पढेका सबैलाई अनिवार्य विभिन्न क्षेत्रमा प्राविधिक तालिम दिऔं । त्यसपछि उ चाहे देशमा बसोस चाहे विदेशमा उसको खुसी । हाम्रा नागरिकसंग काम गर्ने सीप छैन् । सीप भएका सिकर्मी डकर्मी बाँसका सामान बनाउनेहरुले  गाउँमा काम पाउन नसकेर अभावमा बाँचिरहेका छन् । तिनलाई थप सीप प्रदान गरेर सरकारीहरुमा कामको प्रयोग गर्नुपर्यो । बल्ल जीवन स्तर बढ्छ । टाठाबाठा सरह बाँच्न पाउँछ । बल्ल समानताको वकालत गर्नेहरुको चित्त बुझ्नेछ ।

अन्यथा जमिनदारको जग्गा खोसेर गरीबी उन्मुलन हुँदैन । २२ मौजाका जमिदार लहान मटियर्वाका थारुहरुका कैयौं शाखा सन्तानहरु अरबौको सम्पति मासेर अहिले कतिपय सर्वहाराको राजनीति गर्दै होलान् । अब उनको दलित राजनीति शुरु भयो ।

हरेक तबरबाट सम्पन्नता प्राप्त व्यक्तिहरुलाई पलायनबाट रोकेर असक्षमहरुलाई पनि  सक्षम र सम्पन्न बनाएर Competative Life दिलाउन सक्यौं भने उसलाई दलित भनेर कसैले हेप्ने छैन् । यहाँ त दलितको भावनामाथि खेलबाड गरेर राजनीति गरिन्छन् ।

अत: दलित शब्दप्रति मेरो आपत्ति छ । अभावमा बाँच्ने सबै दलित हुन् । चाहे धार्मिक रुपले उच्च जाति मानिएका गरीब ब्राह्मण किन नहुन् । समाजमा थिचिएर बसेका पीडितहरु स्वयं जागृत भएर कहिल्यै उठ्नै सक्दैनन् । उठ्नलाई कैयौं पुस्ता बिताउनुपर्छ । काम नगरी अवसर पाउने मानवीय सोंच नेपालमा मात्र होइन , अपितु संसारका सबै मानिसहरुमा हुन्छ । समाजमा थिचोमिचो रहुञ्जेलसम्म त्यस्तो सोंच बोक्नेहरु  यथावत् रहि रहनेछ ।

अन्त्यमा , सरकार र नीति निर्माण गर्ने उच्च पदस्थ व्यक्तित्वहरुसंग के आग्रह छ भने नेपालको शिक्षामा सरकारको लगानीको अत्यधिक छ । बाबजुद  निजी विद्यालय प्रति अभिभावकहरुको आकर्षण रहेको छ ।  अहिले देशको हरेक कुनामा निजी स्कुल खोलिएको छ ।

नोट : जहाँ जहाँ पीडा छ त्यहाँ त्यहाँ समाधान गर्नुपर्छ । तर  कहिल्यै अभाव नझेलेकाहरुले मधेसको नाममा , दलितको नाममा , जातियताको नाममा देशलाई अस्थिर बनाइ राख्न राजनीतिक मुद्दा मात्र शृजना गर्छन् ।  आफ्नो परिवार , जाति र नातेदारहरुको हितमा राजनीतिक व्यापार गरेकै कारण मधेसमा यी समस्याहरु देखिएको हो । बाबजुद  हरेक जातिभित्र पुस्तैनी गरीब छ । निजी स्कुल र कलेजमा पढ्नेहरु समाजका धनीहरु नै हुन्छन् भने सरकारी स्कुलमा गरीब , निमुखा , अभाव र अशिक्षित आमाबुबाका सन्तानहरु मात्र पढ्छन् । यसरी युगौंदेखि अवसरबाट बञ्चित सरकारी स्कुलमा पढेकाहरु बिच प्रतिस्पर्धा गराएर सरकारी सेवामा नोकरीको कानूनी व्यवस्था गर्न सक्यौं  भने टाठाबाठाहरुको राजनीति बन्द हुन्छ ।

अन्ततोगत्वा , निजी स्कुल कलेजहरुमा  अध्ययन गर्नेहरुको शैक्षिक स्तर उच्च रहेकोले  नेपाल छोडेर विदेश पलायन भइरहेको छ भनेर तथ्यांकले देखाइरहेको छ ।

अन्यथा थिचोमिचोमा रहेकाहरुको तथ्यांक संकलन गरेर उनीहरुको लागि छुट्टै निजीसंग प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक संस्थाानहरुको स्थापना गर्ने हिम्मत छ ?

नोट : आर्थिक , राजनीतिक , शैक्षिक , शारीरिक सबै  तरहले पीडित समग्र मुसहर जाति , डोम जाति , हलखोलर जाति , चमार जाति , कामी , दमाई जाति त्यसैगरी पुस्तैनी पुर्ख्यौली पेशा गरेर पनि अभावमा बाँच्नेहरु मात्र मधेसमा वास्तविक पीडित हुन् , दलित हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय