मिथिलाको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमाको तयारी थालिएको छ। प्रत्येक वर्ष फागुन शुक्लपक्ष प्रतिपदाका दिन धनुषाको मिथिला बिहारी नगरपालिका-८, कचुरीस्थित मिथिला विहारी मन्दिरबाट सुरु हुने १५ दिने मिथिला माध्यमिकी परिक्रमाको तयारी थालिएको हो।
यस वर्ष फागुन २७ गतेबाट मिथिला माध्यमिकी परिक्रमा सुरु हुने मिथिला बिहारी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अजय झाले बताउनुभयो । उहाँले आउँदो आइतबार बिहान यहाँबाट झाँकी किर्तनसहितको डोला जनकपुरधामको हनुमानगढी पुग्ने सो ठाउँमा जानकी मन्दिर र राममिन्दरलगायत अन्य मठमन्दिरबाट आएका भगवानका डोला तथा भक्तजन एकत्रित भएर कल्याणेश्वरका लागि सोही दिन प्रस्थान गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो दिन डोला कल्याणेश्वर पुग्ने छ। त्यसपछिका दिनमा मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षीरेश्वरनाथ (पर्वता), धनुषाधाम, सतोषर, औरही पुनः कल्याणेश्वर हुँदै फागुपूर्णिमाका दिन जनकपुरधाम फर्केर पञ्चकोशीय अन्तगृह परिक्रमा गरी समाप्त हुने छ। नेपाल-भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक माध्यमिक परिक्रमा नेपालमा ११ र भारतको विहार राज्यमा चार स्थानमा
विश्रामस्थल छन्। ती विश्रामस्थललाई अन्न क्षेत्र घोषणा गरेर साधुसन्त तथा भक्तजनलाई निःशुल्क भोजन गराउने चलन छ ।
परिक्रमामा परम्परागत बाजागाजा, झाँकी,
किर्तनसहित मौलिक पहिरनमा लाखौँ महिला तथा पुरुष सहभागी हुने गर्छन्। हजारौं श्रद्धालु भक्तजनको सहभागिताले धनुषा र महोत्तरी जिल्लालाई धार्मिक पर्यटनका रूपमा चिनाउन सहयोग गरेको छ। माध्यमिकी परिक्रमालाई उल्लासमय बनाउन तथा व्यवस्थापनमा विशेष भूमिका निर्वाह गर्दै आएको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले यस यस वर्ष पनि विशेष तयारी थालेको छ । परिषद्का प्रमुख कार्यकारी निर्देशक शितल साहले अन्य वर्षको तुलनामा यस पटक परिक्रमालाई विशेष बनाउन र विश्रामस्थल व्यवस्थापनबारे सरोकारवालासँग छलफल भइरहेको बताउनुभयो ।
उहाँले माध्यमिकी परिक्रमा एसियाकै सबैभन्दा लामो दुरीको धार्मिक पैदल यात्रा भएको बताउँदै यसलाई पर्यटन क्षेत्रसँग जोडेर यसको विकास तथा प्रचारप्रसार हुनुपर्ने खाँचो औंल्याउनुहुन्छ ।
परिक्रमामा प्रत्येक वर्ष भक्तजनको सङ्ख्या थपिँदै गएको छ। यस वर्ष करिब पाँच लाखको हाराहारीमा श्रद्धालु भक्तजन सहभागी हुने अनुमान गरिएको कार्यकारी निर्देशक साहले बताउनुभयो । माध्यमिक परिक्रमा डोला निस्कने मिथिला बिहारी मन्दिर पाँच सय वर्ष पुरानो रहेको अनुमान गरिएको छ। यस मन्दिरबाट डोलासहित परिक्रमाको प्रारम्भ गर्ने परम्परा निकै पुरानो छ ।
-गाेरखापत्र