रोयाण्टर मण्डल
सिराहा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर कार्य समिति सुखीपुरले रासायनिक मलखादको सहज तथा समयमै उपलब्धता सुनिश्चित गर्न माग गर्दै सुखीपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नभएकाले ज्ञापनपत्र कृषि शाखा प्रमुखलाई बुझाइएको हो ।

नगर कार्य समितिका सचिव सन्तोष कुमार यादवको हस्ताक्षर रहेको ज्ञापनपत्रमा नेपाल कृषि प्रधान देश भए पनि किसानहरूले आवश्यक रासायनिक मल समयमै प्राप्त गर्न नसक्दा धान रोपाइँसहितका कृषि कार्य प्रभावित भइरहेको उल्लेख गरिएको छ ।  धान रोपाइँको मुख्य समयमा समेत मलखादको अभाव, वितरण प्रक्रियामा ढिलाइ, सहज पहुँचको कमी, व्यापक कालोबजारी तथा चर्को मूल्यमा बिक्री–वितरण भइरहेका कारण किसानहरू गम्भीर समस्यामा परेको रास्वपाले जनाएको छ ।

ज्ञापनपत्रमार्फत मलखाद वितरण कार्यविधि, २०८२ अनुसार निर्धारित दररेट कायम गरी असार १६ गतेभित्र किसानलाई सहज, पारदर्शी र शीघ्र रूपमा मलखाद वितरणको व्यवस्था मिलाउन नगरपालिकासँग माग गरिएको छ । साथै वितरण प्रक्रियामा निष्पक्षता, पारदर्शिता र समयबद्धता कायम गर्दै वास्तविक कृषकलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।

रास्वपाको मागप्रति बेवास्ता गरिए चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ । आन्दोलनका कारण उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सम्बन्धित नगरपालिकाले नै वहन गर्नुपर्ने व्यहोरा ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय