मनिषा मण्डल
लहान /  मानव अधिकार तथा शान्ति समाजले यो वर्षको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार ललिता दास तत्मा ‘विद्रोही’लाई प्रदान गर्ने निर्णय गरेको छ ।

सामाजिक न्याय र सीमान्तकृत समुदायका हकहितमा निरन्तर आवाज उठाउँदै आएकी दासलाई बुधबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत रूपमा छनोट गरेको हो ।

१ लाख १० हजार रुपैयाँ राशिको यो पुरस्कार समाजले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व र न्याय प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गर्दै आएको छ। समाजकी सभापति रेनुका पौडेलका अनुसार मधेसका दलित, महिला तथा सीमान्तकृत समुदायको अधिकारका पक्षमा दासले प्रदर्शन गरेको साहसिक भूमिका प्रशंसनीय भएकाले यो वर्षको सम्मान उनीमै केन्द्रित गरिएको हो।
छनौट समिति २०८२ फागुन ३० गते बसेर अन्तिम निर्णयमा पुगेको जनाएको छ ।

वि.सं. २०४२ साउन १४ गते सिराहाको सन्हैठा गाउँमा जन्मिएकी ललिता दास हाल लहानमा बस्दै आएकी हुन्। उनले मधेस प्रदेशसभामा प्रतिनिधित्व गरिरहेकी छन्। प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिकी सदस्यसमेत रहेकी दास जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य पनि हुन् ।

जातीय विभेद, उठीबास तथा सामाजिक अन्यायका घटनाविरुद्ध सडकदेखि सदनसम्म सक्रिय रहँदै उनले ‘विद्रोही’ पहिचान बनाएकी दासले सामाजिक न्यायका मुद्दालाई निरन्तर अगाडि बढाउँदै आएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय