माधुरी महतो
धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलले दायर गरेको रिट निवेदनमाथि सोमवार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने कार्यसूची छ।

निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको निर्णयविरुद्ध साह सर्वोच्च पुगेका हुन्। उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्न न्यायाधीश नृपध्वज निरौलाको इजलास तोकिएको छ।

साह सर्वोच्च पुगेको जानकारी पाएपछि निर्वाचन आयोगले धनुषा–१ मा मतगणना जारी राख्न तर अन्तिम नतिजा प्रकाशित नगर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो।

त्यसपछि मतगणना सम्पन्न भए पनि आधिकारिक परिणाम सार्वजनिक गरिएको छैन। गणनास्थलमा रहेका रास्वपाका प्रतिनिधिका अनुसार साहले २० हजारभन्दा बढी मत प्राप्त गरेका छन्।

तर निर्वाचन अधिकृतको कार्यालयले उनको मत औपचारिक रूपमा सार्वजनिक गरेको छैन। मतगणना अनुसार अन्य उम्मेदवारमध्ये मातृकाप्रसाद यादवले १० हजार ४०३, रामपल्टन साहले ९ हजार ५०२ र रामचन्द्र मण्डल ले ९ हजार ३१५ मत पाएका छन्।

उता नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादवले भने आफूलाई विजयी घोषणा गर्न भनिरहेका छन्। उनका समर्थकहरू मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि धर्नामा समेत बसेका छन् ।

मातृकाप्रसाद यादवको तर्कअनुसार साहको उम्मेदवारी खारेज भएकाले रास्वपाको चुनाव चिह्नमा परेको मत बदर मानिनुपर्ने र बाँकी उम्मेदवार मध्ये आफूले सबैभन्दा बढी मत पाएकाले आफूलाई निर्वाचित घोषणा गर्नुपर्ने उनको भनाइ रहेको छ ।

यसैबीच यादवको दल नेकपाले धनुषा–१ बाट आफ्ना उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो। निर्वाचन आयोगले भने १८ फागुनमा बसेको बैठकले ब्याङ्क तथा वित्तीय संस्थासम्बन्धी दायित्व पूरा नगरेको कारण कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको प्रमाणित भएपछि रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। कमलको कमल निर्माण सेवा प्रालि २०८० माघ २२ गतेदेखि ऋण दायित्व पूरा नगरेका कारण कालोसूचीमा परेको आयोगले जनाएको छ ।

कमलविरुद्ध गत १० फागुनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो। सो उजुरी ११ फागुनमा निर्वाचन आयोगमा पठाइएपछि आयोगले उम्मेदवार साहसँग स्पष्टीकरण माग गरेको थियो ।
सभार विविसी नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय