राेयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सुखीपुरका इन्जिनियर प्रमोद कुमार यादवको गोली प्रहारबाट भएको हत्या प्रकरणप्रति सुखीपुर नगरपालिकाका कर्मचारीहरूले विरोध जनाउँदै आज मङ्गलबार एक दिन कालोपट्टी बाँधी नियमित कामकाज गरि रहेका छन् ।
सुखीपुर नगरपालिका–९ का स्थायी निवासी तथा जिल्ला सर्लाहीस्थित जिल्ला पूर्वाधार विकास कार्यालयमा सब–इन्जिनियर पदमा कार्यरत प्रमोद कुमार यादवको गोली प्रहारबाट भएको दुःखद निधनप्रति सुखीपुर नगरपालिका सम्पुर्ण कर्मचारी परिवारले घोर भर्त्सना व्यक्त गरेको हाे ।
फागुन ३ गते आईतवार साँझ करिब ८ बजेर ५ मिनेटको समयमा अज्ञात समूहले गरेको गोली प्रहारपछि गम्भीर घाइते बनेका यादवको उपचारका क्रममा मृत्यु भएको थियो ।
सुखीपुर नगरपालिका कार्यरत सम्पुर्ण कर्मचारी परिवारद्वारा मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमा राष्ट्रको विकासमा समर्पित दक्ष प्राविधिकमाथि कार्यक्षेत्रमै भएको यस्तो जघन्य र अमानवीय आक्रमणले सम्पूर्ण नगर परिवार मर्माहत बनेको उल्लेख छ । साथै आसन्न निर्वाचनको सन्दर्भमा शान्ति–सुरक्षामा देखिएको कमजोरीले गम्भीर प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नगरपालिका कर्मचारीले प्रमोद कुमार यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
साथै घटनामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न नेपाल सरकार तथा सुरक्षासम्बद्ध निकायसँग जोडदार माग गरिएको छ ।
घटनाको विरोधस्वरूप आज मंगलबार १ दिनका लागि कालोपट्टी बाँधी कामकाज गर्ने निर्णय गरिएको जनाएको छ ।
समयमै दोषीलाई कानुनी दायरामा नल्याए थप संघर्षका कार्यक्रम सञ्चालन गर्ने चेतावनी समेत विज्ञप्तिमा उल्लेख छ ।





