राेयाण्टर मण्डल
लहान ( सिरहा) / नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशले मुक्तक दिवसको अवसरमा २०८२ सालका लागि घोषणा गरिएका चार साहित्यिक पुरस्कार एक समारोहका बीच समर्पण गरेको छ ।
नेपाली साहित्यका विभिन्न विधामा सक्रिय योगदान पुर्याउँदै आएका चार स्रष्टाहरूलाई शनिबार विराटनगरमा पुरस्कृत गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. टङ्कप्रसाद न्यौपाने, विशेष अतिथि प्राज्ञ विवश पोखरेलसहित वरिष्ठ साहित्यकारहरूको उपस्थितिमा पुरस्कार समर्पण गरिएको प्रतिष्ठानले जनाएको छ ।
पुरस्कार र प्राप्तकर्ता
- नरनाथ–नन्दकुमारी पोखरेल स्मृति पुरस्कार (रु. १५ हजार) – प्रा. डा. गोविन्दराज भट्टराई
- नन्दलाल दाहाल स्मृति साहित्य पुरस्कार (रु. १५ हजार) – प्राज्ञ डा. कौशिला रिसाल
- छमनादेवी–रामप्रसाद पोखरेल स्मृति पुरस्कार (रु. ११ हजार) – वरिष्ठ लेखक मधु पोखरेल
- माधव–नर्मदा पोखरेल स्मृति साहित्य पुरस्कार (रु. ११ हजार) – मुक्तक–साधक शिव अधिकारी (इलामे जेठो)
कार्यक्रममा कवि विन्दु दाहाल ‘मुकदर्शक’, नानुमैया दाहाल, गोपाल निर्भिक र लक्ष्मी पोखरेलले पुरस्कृत स्रष्टाहरूको कृतित्वबारे टिप्पणी गरेका थिए ।
प्रमुख अतिथि प्रा. डा. न्यौपानेले मुक्तकसहित नेपाली साहित्यको उन्नयनमा यस्ता पहलले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
अध्यक्ष बाबुराम पोखरेलले मुक्तक विधाको अनुसन्धानात्मक विकासलाई मुख्य प्राथमिकताका रूपमा अघि बढाइने जनाए ।
सचिव मदन भण्डारीद्वारा सञ्चालन गरिएको कार्यक्रममा कोशी प्रदेशका साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको प्रतिष्ठानले जनाएको छ।






