रोयाण्टर मण्डल
लहान (सिरहा) / सिरहाको लहान क्षेत्रमा चुनावी तापक्रम चर्कँदै जाँदा नेताहरूको आवागमन तीव्र बन्दै गएको छ। यहीबीच लहान नगरपालिका–१० का नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णहरी गैरेल पुनः नेपाली कांग्रेसमा फर्किएका छन् ।
गैरेलले २०७४ सालमा कांग्रेस छोडेर एमाले प्रवेश गरेका थिए। एमाले विभाजनपछि उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बाट स्थानीय तह निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार बनेका थिए र २६१ मत प्राप्त गरेका थिए ।
पछिल्लो समयमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेकपा (माओवादी केन्द्र)
सहितका विभिन्न वामपन्थी घटकबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी बनेपछि गैरेल सोही पार्टीमा सक्रिय रूपमा कार्यरत थिए ।
मंगलबार लहानमा आयोजित कार्यक्रममा गैरेलसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पूरै वडा कमिटीले सामूहिक रूपमा नेपाली कांग्रेस प्रवेश गरेको आयोजकले जानकारी दिएको छ।
नवप्रवेशीहरूलाई कांग्रेस सिरहा क्षेत्र नं.–१ का प्रतिनिधिसभा उम्मेदवार रामसुन्दर चौधरीले टीका लगाएर पार्टीमा स्वागत गरे।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति तथा लहान नगरपालिकाका प्रमुख महेश चौधरी, नगर सभापति सञ्जय यादव, महाधिवेशन प्रतिनिधि अरुण केसी, क्षेत्रीय सचिव शरणदेव यादव, सह–सचिव महेश मण्डल, वडा अध्यक्ष मनोज कोईरालालगायत नेताहरूको उपस्थिति बूथ सभापति अम्बराज मिश्रको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।






