रामेन्द्र प्रसाद यादव
लहान ( सिरहा ) / जिल्ला उद्योग वाणिज्य संघ सिरहा–लहानको मिति २०८२ साल पुष ५ गते शनिबार हुने भनिएको निर्वाचन प्रक्रिया हालका लागि स्थगित गरिएको छ ।
उच्च अदालत जनकपुरधामको राजविराज इजलासबाट मिति २०८२ साल पुष २ गते जारी आदेशको पालना गर्दै अर्को सूचना जारी नभएसम्म निर्वाचनसँग सम्बन्धित सम्पूर्ण बाँकी प्रक्रिया स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत उद्धव हमालले जानकारी दिएका छन् ।
प्रमुख निर्वाचन अधिकृत हमालद्वारा जारी सूचनामा उच्च अदालतको आदेशअनुसार निर्वाचन नगराउन तथा निर्वाचनसँग सम्बन्धित कुनै पनि गतिविधि अगाडि नबढाउन निर्देशन प्राप्त भएकाले निर्वाचन प्रक्रिया हाललाई रोकिएको जनाइएको छ ।
अदालतबाट अर्को आदेश वा निर्देशन प्राप्त नभएसम्म यसअघिका सबै निर्वाचनसम्बन्धी कार्यक्रम यथास्थितिमा राखिने सूचनामा उल्लेख छ ।
सोही सूचनामा संघका अध्यक्ष पदका उम्मेदवार प्रदीप कुमार गुप्ता र श्याम गुप्तालाई अदालतको आदेश तथा निर्वाचन स्थगनसम्बन्धी जानकारी औपचारिक पत्राचारमार्फत अवगत गराइएको उल्लेख गरिएको छ ।
जिल्ला उद्योग वाणिज्य संघ सिरहा–लहानका सबै सदस्य, उम्मेदवार तथा सरोकारवाला पक्षलाई संयमित रहन र कानुनी प्रक्रियाको सम्मान गर्न प्रमुख निर्वाचन अधिकृत हमालले अनुरोध गरेका छन् ।





