राेयाण्टर मण्डल

लहान (सिरहा) / मालपोत कार्यालय लहानमा भू–सेवा सञ्चालनको नाममा सेवाग्राहीसँग मनपरी रूपमा रकम असुली भइरहेको गम्भीर गुनासो सार्वजनिक भएको छ ।

कार्यालयले प्रदान गर्ने सेवाको कुनै पनि आधिकारिक दररेट सार्वजनिक नगरी भू–सेवा सञ्चालन गर्नेहरूद्वारा असुली हुने गरेको पाइएको हो । यस कार्यमा मालपोत कार्यालयका प्रमुख डमरु प्रासाद निराैला नै सक्रिय रहेको आरोप सेवाग्राहीहरूले लगाएका छन् ।

 

सेवाग्राहीका अनुसार जग्गा नामसारी, रोक्का–फुकुवा, लिखत दर्ता, फिल्डबुक अद्यावधिक, नक्शा सुधार तथा तीन पुस्ते कायमजस्ता सामान्य कागजात अपलाेडमा समेत मापदण्डबिना रकम माग्ने गरिएको छ । मागे जति रुपैयाँ नदिई कसैले काम नगर्ने सेन्डिकेट लगाएकाे छ । सेवाग्राहीहरु हैरान भएर रकम दिन मजबुर हुने गरिएको गुनासो छ।

‘कुन सेवाका लागि कति शुल्क लाग्छ भन्ने जानकारी कार्यालयमा कतै टाँसिएको छैन,’ एक सेवाग्राहीले भने, ‘जति भन्यो त्यति नदिए काम अघि बढ्दैन।’ सेवाग्राहीहरू छिटो काम गराउन बाध्य भएर अतिरिक्त रकम दिनुपर्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ।

भू–सेवा सञ्चालन गर्नेहरूले सेवाग्राहीसँग लिएको रकमको कुनै रसिद नदिने, आय–व्यय पारदर्शी नराख्ने गरेको आरोप छ । सेवाग्राहीका अनुसार असुली प्रक्रिया कार्यालय प्रमुखकै निर्देशन र संरक्षणमा भइरहेको दाबी गरिएको छ, जसले यसलाई व्यक्तिगत नभई संस्थागत भ्रष्टाचारको रूप दिएको उनीहरूको आरोप छ।

ग्रामीण क्षेत्रबाट आएका सर्वसाधारण सबैभन्दा बढी मारमा परेको जनाइएको छ। कानुनी प्रक्रिया र नियम नबुझ्दा उनीहरू सजिलै असुलीको सिकार बन्ने गरेका छन् । यसैबीच जग्गा कारोबार गर्ने व्यापारीहरूको काम छिटो हुने तर सामान्य सेवाग्राहीको काम जानाजान ढिलाइ गरिने गरिएको गुनासो पनि बढ्दै गएको छ ।

सरकारले तोकेको राजस्वबाहेक अतिरिक्त रूपमा असुलिएको रकमको कुनै अभिलेख नराखिँदा राज्यकोषमा समेत क्षति पुगिरहेको सरोकारवालाहरू बताउँछन् ।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्बन्धित निकायले मालपोत कार्यालय लहानमा भइरहेको असुलीको गहिरो छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग सेवाग्राही तथा अधिकारकर्मीहरूले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय