लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा–लहानको निर्वाचन प्रक्रिया सुरु हुन नपाउँदै विवादको आँधी चलेको छ । संघभित्रै असन्तोष चुलिँदै गएपछि लहानका व्यवसायीहरू सडकमा उत्रिँदै निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनको माग गर्दै एकजुट भएका छन् ।
व्यवसायीहरूका अनुसार निर्वाचन समिति नै विवादको केन्द्र बनेको छ । विधानविपरीत निर्णय, उम्मेदवारी खारेजी र मनपरी प्रक्रियाले संघलाई गलत दिशातर्फ धकेलिएको उनीहरूको आरोप छ । “निर्वाचन समिति सच्चिनु पर्दैन भने खारेज हुनुपर्छ,” प्रदर्शनकारी व्यवसायीहरूको एक स्वर सुनियो ।
संघको विधानको अक्षरशः पालना, रद्द गरिएका उम्मेदवारी पुनः कायम र निर्वाचन–साधारण सभा स्थगन—यिनै तीन बुँदामा व्यवसायीहरूको आन्दोलन केन्द्रित छ । उनीहरूको चेतावनी छ—हालकै वातावरणमा निर्वाचन भए संघभित्र गहिरो विभाजन र दीर्घकालीन विवादको सुरुवात हुनेछ ।
अध्यक्ष पदका उम्मेदवार श्याम गुप्ताले आन्दोलनलाई समर्थन गर्दै निर्वाचन कुनै प्यानलको प्रतिस्पर्धा मात्र नभई लहानको सम्पूर्ण व्यापारिक भविष्यसँग जोडिएको विषय भएको बताए ।
उनले स्पष्ट शब्दमा भने, “यो लडाइँ पदको होइन, प्रक्रियाको हो। विधान मिचेर गरिने निर्वाचन स्वीकार्य हुँदैन ।”
व्यवसायीहरूले आफ्नो आवाज बेवास्ता गरिए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिँदै जिल्ला उद्योग वाणिज्य संघलाई सबै व्यवसायीहरूको साझा, निष्पक्ष र विश्वासिलो संस्था बनाइराख्न निष्पक्ष निर्वाचन अपरिहार्य रहेको बताएका छन् ।





