रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सिरहा निर्वाचन क्षेत्र नं. २ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले जिल्ला सभापति राम चन्द्र यादवलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
मंगलबार नवराजपुरमा बसेको नेपाली कांग्रेस सिरहा–२ का पदाधिकारी, पूर्व पदाधिकारी, क्षेत्र, प्रदेश, नगर तथा वडा कार्यसमितिको संयुक्त बैठकमा जिल्ला सभापति यादवले प्रतिनिधिसभामा उम्मेदवारी दिन प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गर्दै उनी नै क्षेत्र नम्बर २ का आधिकारिक उम्मेदवार हुने निर्णय गरेको हो ।

सुखीपुर नगर सभापति मिथुन यादवका अनुसार समानुपातिक तर्फ चित्रलेखा यादव र राष्ट्रिय सभातर्फ अमय कुमार यादवको नाम सिफारिस गरिएको छ ।
जिल्ला सभापति राम चन्द्र यादव यसअघि संविधानसभा सदस्यमा विजयी भइसकेका अनुभवी नेता हुन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा पुनः उनी नै कांग्रेसको तर्फबाट प्रतिस्पर्धामा उत्रिनु पार्टीभित्र देखिएको एकता र सहमतिको संकेतका रूपमा हेरिएको छ ।






