मनिषा मण्डल
सुखीपुर (सिरहा), कात्तिक / छठ पर्वको मुख्य दिन आज (सोमबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ ।
सिरहा जिल्लाको सुखीपुर नगरपालिका–८ स्थित रामजानकी पोखरीमा व्रतालुहरूले रातभर जाग्राम बसेर पर्वको रौनकता थपेका थिए। पोखरी परिसर रंगोली, दीप र बत्तीले सिँगारिएपछि सम्पूर्ण क्षेत्र दुलहीझैँ झलमल्ल देखिएको थियो ।
सुखीपुर मात्र होइन, मिथिलाञ्चलका गाउँदेखि शहरसम्मका पोखरी, नदी र जलाशयहरूमा आज हजारौँ व्रतालुहरू जुटी अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन्। माटोले बनाइएका नयाँ घैलो, हात्ती, कोसिया कुरबार, बाँसका कोलसुप, सुपा, ढकिया र चंगेरामा प्रसाद राखी व्रतालुहरू जलाशयमा उभिएका थिए ।
अर्घ्य दिने क्रममा व्रतालुहरूले चामलको घोल, सिन्दूर, अक्षता र फूलसहित दुवै हातमा अर्घ्य सामग्री लिएर सूर्यदेवतासमक्ष पालैपालो अर्पण गरे।
३६ घण्टासम्म पानीसमेत नखाई बसिने यो व्रतमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ्य अर्पण गर्दै छठीमाताको पूजा–आराधना गरिन्छ। भोलि (मंगलबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुनेछ ।
विना भेदभाव सबै जातजाति र समुदायका व्यक्तिहरू पोखरी, नदी र जलाशयका घाटमा जम्मा भई सँगसँगै सूर्यदेवताको पूजा गर्ने परम्परा रहेको यस पर्वले साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता र मेलमिलापको सन्देश दिएको छ ।

📸 तस्बिर: सुखीपुर–८ स्थित रामजानकी पोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै व्रतालुहरू। (तस्बिर : जनता टुडे)







