रौतहट / रौतहटको गौर नगरपालिका–९ अन्तर्गत गौर–सिरसिया सडकखण्ड नजिकको मुठवलबा गेट छेउमा सुटकेसभित्र मृत अवस्थामा फेला परेकी महिलाको सनाखत खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार मृतक गौर नगरपालिका–२ महादेवपट्टि डेरामा बस्दै आएकी २६ वर्षीया रुवी शाह सुडी हुन् । उनकाे मूल घर माधवनारायण नगरपालिका–६ हो। केही वर्षअघि भारतमा विवाह गरेकी उनी चार वर्षीय छोराको पढाइका लागि गौरमा बस्दै आएकी थिइन् ।
प्रहरीका अनुसार, सुटकेसभित्र कुइनो र घुँडा जोडेर शव प्याक गरिएको अवस्थामा भेटिएको हो। नाकबाट रगत बगेको देखिए पनि शरीरमा बाहिरी चोटपटक भने भेटिएको छैन ।
शनिबार राति करिब १०:३० बजे स्थानीयले सुटकेशबारे खबर गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। सुटकेश खोल्दा भित्र रुवीको शव रहेको पुष्टि भएको हो ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ। मृतकका श्रीमान् भारतबाट नेपाल फर्किसकेका छन् ।
हालै रौतहटमा आपराधिक गतिविधि बढ्दै गएको जनाइएको छ। केही दिनअघि गौर–५ मा सहाबुदिन मियाको छुरा प्रहार गरी हत्या गरिएको थियो भने सप्तरीका उपेन्द्र भगतको शव एक होटलमा भेटिएको थियो। यो साता मात्रै रौतहटमा तीन जनाको शव फेला परिसकेको प्रहरीले जनाएको छ ।





