मनिषा मण्डल
लहान (सिरहा) / भाई–बहिनीको पवित्र, स्नेह र अटुट बन्धनको प्रतीक रक्षाबन्धनको महा–पर्व शनिवार रहेकाेे छ तर आज शुक्रबार देेखि नै बजारमा राैनकता छाएकाे छ ।

यसै अवसरमा सिरहाको लहान बजार पनि पर्वको रौनकले झलमल बनेको छ।
लहानको मुटु मानिने तरकारी चौकदेखि ग्रामीण चौकसम्म तथा मुख्य–मुख्य चोकहरूमा राखी तथा मिठाईका पसलहरूले बजार पूरै सजिएको छ । सडकका किनार र फुटपाथमा रङ्ग–विरङ्गी राखीहरू सजाएर बिक्रीमा राखिएको दृश्य बजारभरी देख्न सकिन्छ।

साथै, मिष्ठान्न भण्डारहरूमा राखिएका मिठाई, गुलब जामुन, रसगुला, बर्फी , पेडा, लड्डु, जिलेबी जस्ता परिकारको सुगन्धले पुरै शहरलाई मीठो बास्नाले भरिएको छ। बिहानदेखि नै राखीको खरिद–बिक्रीमा व्यापारीहरू व्यस्त देखिएका छन्।
बजारमा रु. २० देखि रु. २०० वा सो भन्दा बढी मूल्यसम्मका राखीहरू सजिलै पाइन्छन्, जसले सबै वर्गका ग्राहकहरूलाई लक्षित गरेको देखिन्छ।





