सिराहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहा जिल्लाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार साहविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।
आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले साहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो। उनीमाथि वडा नं.–६ मा निर्माण सम्पन्न भएको नाला योजनाको भुक्तानी दिनुअघि सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।
आयोगका अनुसार अनुसन्धानका क्रममा साहले सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस मागी लिएको प्रमाणित भएको पाइएको छ। यसका आधारमा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुरमा साहविरुद्ध बिगो १ लाख रुपैयाँ कायम गर्दै कैद सजाय र बिगो बराबरको जरिवानाको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।





