राेयाण्टर मण्डल
सिरहा / लहान नगरपालिका–१० स्थित ग्रामीण चौकको मन्दिरदेखि स्व. प्रदीप गिरि मार्ग भनेर चिनिने सडक अब कालोपत्रे हुने भएको छ। आज बिहान लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले विधिवत रूपमा सडकको शिलान्यास गरेसँगै स्थानीयवासीमा हर्षको लहर छाएको छ ।
झण्डै ७२ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको यो सडकको कालोपत्रे कार्यले स्थानीय बासिन्दा तथा यात्रुहरूलाई लामो समयदेखि भोग्दै आएका धुलो र हिलोको सास्तीबाट मुक्ति दिलाउनेछ ।

सडकको अवस्था जीर्ण भएपछि दैनिक आवागमनमा समस्या भोग्दै आएका स्थानीयहरू अब सहज र सुरक्षित यातायात सेवाको अपेक्षामा छन्। “सडक निर्माण भएपछि यहाँको व्यापार, शिक्षा र स्वास्थ्य सेवा पहुँचमा पनि सुधार आउँछ,” एक स्थानीय बासिन्दाले खुसी व्यक्त गरे ।
नगर प्रमुख चौधरीले जनताको आधारभूत आवश्यकता पुरा गर्दै विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताएका छन् ।
स्थानीयवासीले लामो समयदेखि माग गर्दै आएको यो सडकको सुधार कार्य प्रारम्भ भएपछि लहान-१० को विकासमा एक नयाँ आयाम थपिने विश्वास लिइएको छ ।





