मनिषा मण्डल
लहान / सिरहाको लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरी आज शनिवार बिदाको दिन पनि जनताको समस्याप्रति गम्भीर हुँदै घरदैलो अभियानमा जुटेका छन् ।
पूर्वमन्त्री पद्म नारायण चौधरीको साथमा रहेका मेयर चौधरीले नगरवासीको समस्या बुझ्न टोल–टोलमा पुगेर प्रत्यक्ष संवाद गरेका छन् ।
जनप्रतिनिधिले जनताको दुःख–सुखमा साथ दिनुपर्ने मान्यतामा विश्वास राख्ने मेयर चौधरीले जनचाहनालाई प्राथमिकता दिँदै गाउँ–बस्तीको अवलोकन गरिरहेका छन् ।
उनले स्थानीयस्तरमा भौतिक पूर्वाधार, सफाइ, खानेपानी, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित जनगुनासो सुनी समाधानको प्रतिबद्धता जनाएका छन् ।
‘जनताको समस्या सुनेर मात्र होइन, बुझेर समाधान गर्नु नै प्रतिनिधिको कर्तव्य हो,’ मेयर चौधरीले भने ।
स्थानीयवासीले मेयरको सक्रियताले सकारात्मक सन्देश दिएको बताउँदै अन्य जनप्रतिनिधिले पनि यस्तै व्यवहार देखाउनु पर्ने धारणा राखेका छन् ।
नगरप्रमुख चौधरीको यो पहललाई धेरैले नमुना कार्यको रूपमा लिएका छन्। बाँकी पालिकाका जनप्रतिनिधिहरूलाई पनि यस्तै जनमुखी पहल गर्नुपर्ने आवश्यकता देखिन्छ ।






