लहान / सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–९ स्थित महावीर माध्यमिक विद्यालय, चैनपुरमा झुटो अध्यापन अनुमति पत्र (लाइसेन्स) पेश गरी वर्षौं जागिर खाएका शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार शिक्षक टीकबहादुर मगरले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रलाई मिलेमतोमा माध्यमिक तहको बनाएर कागजात पेस गरेका थिए। उनले पटक–पटक झुटा कागजात पेस गर्दै राष्ट्रसेवक कर्मचारीका रूपमा ओहदा, लाभ र सुविधा समेत गैरकानुनी रूपमा प्राप्त गर्दै आएका थिए ।
उक्त विषयमा प्राप्त उजुरीका आधारमा अनुसन्धान गर्दा शिक्षक मगरले भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि भएपछि अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम मुद्दा दायर गरेको हो। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार मुद्दामा कैद र जरिवानाको माग दाबी गरिएको छ ।
स्राेत : अपन दैनिक






