लहान / मधेश आन्दोलनको बलिदानलाई सम्झाउने लहानको ऐतिहासिक सहिद पार्क अब इतिहास बन्नेछ। चार लेनको पूर्व–पश्चिम राजमार्ग विस्तार र ओभरफ्लाई ब्रिज निर्माणसँगै यो स्मारकलाई अर्को स्थानमा सार्ने तयारी सुरु भएको छ ।
सहिद रमेश महतो, विजय सहनी, प्रमोद सदाय, मो. अनिस र वेचन यादवको शालिक स्थापना गरिएको उक्त सहिद पार्क अहिले लहान नगरपालिका–१ मा अवस्थित छ। अब ती सबै शालिकहरूलाई वडा कार्यालयअगाडि रहेको तरकारी बजार क्षेत्रतिर स्थानान्तरण गरिने तयारी नगरपालिकाले गरेको हो ।
यसअघि नै लहानको प्रसिद्ध सहिद गेट भत्काइएको थियो । अब सहिद पार्क पनि हटाइँदै गर्दा स्थानीयवासीहरूमा भावनात्मक प्रतिक्रिया चुलिएको छ ।
विकाससँगै सम्मान सुरक्षित रहने प्रतिबद्धता
लहान नगरपालिका र सडक आयोजना पक्षले भने स्मारक स्थानान्तरण केवल प्राविधिक आवश्यकता भएको स्पष्ट पारेका छन् ।
“सहिदको सम्मानमा कुनै सम्झौता हुँदैन,” एक जनप्रतिनिधिले भने, “स्मारक झनै व्यवस्थित, आकर्षक र सम्मानजनक बनाइनेछ ।”
सहिदप्रतिको टिप्पणीले चुलियो आक्रोश
सामाजिक सञ्जालमा सहिदहरूको नाममा गरिएको केही अपमानजनक टिप्पणीप्रति पनि तीव्र आलोचना भएको छ ।
“जसले आफ्नो ज्यान दिए, उनीहरूको अपमान असह्य छ,” आन्दोलनमा संलग्न एक नेता भन्छन्, “स्मारक स्थानान्तरणलाई हामी सम्मानका साथ व्यवहारिक व्यवस्थापनका रूपमा हेर्छौं ।”
सपना अपूरो, आन्दोलन अधुरो
स्मारक स्थानान्तरणसँगै फेरि एकपटक मधेश आन्दोलनको ऐतिहासिक सन्दर्भ उजागर भएको छ। सहिद परिवार, नागरिक अगुवा र राजनीतिक दलहरूले सहिदको सपना अझै अपूरो रहेको भन्दै पहिचान र अधिकारको आन्दोलनलाई अझ सशक्त बनाउन आह्वान गरेका छन् ।
नयाँ स्मारक, नयाँ पहिचानको प्रतीक
स्थानान्तरण पछि बन्ने नयाँ स्मारक अझ भव्य, ऐतिहासिक र स्मरणीय हुने जनाइएको छ । आम नागरिक र स्थानीय अगुवाहरूको माग छ— “सहिदको सम्मान सधैं अमर रहोस् ।”






