मणिलाल विश्ववकर्मा
लहान / सिराहाको लहान– ३ स्थित रामकुमार शारडा उमाप्रसाद प्रादेशिक अस्पतालमा आमा सुरक्षा कार्यक्रम लागू छ । तर, अस्पतालका चिकित्सकले प्रसूति गराउन आएकी एक महिलालाई निजी अस्पतालमा रेफर गरिदिएका छन् । धनगढीमाई नगरपालिका– ८ कसहाबाट प्रसूति गराउन १० फागुनको बिहान शर्मिता राम प्रादेशिक अस्पताल भर्ना भएकी थिइन् । तर, उनलाई चिकित्सकले राम माँ धमिनी हस्पिटलमा रेफर गरिदिए ।
सुविधासम्पन्न सरकारी अस्पतालले रेफर गरिदिएपछि शर्मिताले निजीमै शल्यक्रियामार्फत बच्चा जन्माइन् । हस्पिटलले प्रसूति गराउन ५३ हजार रुपैयाँ लागेको भन्दै पूरै रकम नबुझाएसम्म डिस्चार्ज नगर्ने अडानसहित पाँच दिनसम्म घर जान दिएन । सरकारीबाट रेफर गरेपछि एम्बुलेन्सचालकले करिब पाँच सय मिटरको दूरीमा रहेको धमिनी हस्पिटल पुर्याएपछि शर्मिताले १० फागुनको साँझ छोरा जन्माएको आमा रामवती रामले बताइन् । ‘निजीमा ल्याएलगत्तै अप्रेसन नगरे जे पनि हुन सक्छ भन्दै अत्याए,’ उनले भनिन्, ‘गाउँमा ऋण खोजेर ल्याएको २० हजार रुपैयाँ बुझायौँ, अझै ३३ हजार रुपैयाँ लाग्छ भनेर घर जान दिएनन् ।’
सरकारी अस्पतालमा भर्ना भएकी उनलाई चिकित्सकले निजी अस्पतालसँगको मिलेमतोमा जबर्जस्ती रेफर गरेको परिवारको आरोप छ । प्रसूति गराएको रकम तिर्न नसक्दा अस्पतालबाट घर जान नपाएको पीडित परिवारले सुनाएपछि बुधबार अपराह्न सञ्चारकर्मीको टोली पुग्दा अस्पताल सञ्चालक रामपुकार महतो थिएनन् । अस्पतालमै फार्मेसीसमेत चलाइरहेका उनलाई अस्पतालकी कर्मचारीले फोन गरेपछि हस्याङफस्याङ गर्दै आइपुगेका थिए । उनले प्रसूति गराउन लागेको शुल्कमा केही छुट गरेर भए पनि लिने अडान सुनाए । महतोका अनुसार चिकित्सकको राउन्डको दैनिक पाँच सय, नर्सिङ साढे तीन सय, बेडको दैनिक पाँच सय रुपैयाँका दरले पाँच हजार चार सय र औषधिको करिब १० हजार गरी १५ हजार चार सय रुपैयाँ शुल्क भएको थियो । त्यसबाहेक ३७ हजार ६ सय रुपैयाँ शल्यक्रिया खर्च रहेको उनको दाबी थियो । प्रसूति गराउन आएकी महिलाको अवस्था जटिल थिएन भन्ने सरकारीकै पुर्जामा उल्लेख भएको विषयमा उनले केही बोलेनन् । पत्रकारहरूको टोली पुगेपछि अस्पतालले बुधबार साँझ शर्मितालाई डिस्चार्ज गरिदिएको छ ।
गोलबजारबाट लहान स्थानान्तरण गरिएको भनिएको हस्पिटल लहान नगरपालिका– ३ रघुनाथपुरमा सञ्चालित छ । गोलबजारमा दर्ता भएको हस्पिटलले सञ्चालन खर्चसमेत धान्न नसकेपछि लहानमा सरकारी अस्पतालनजिकै भाडाको घरमा चलाइएको अस्पतालमा एम्बुलेन्सचालक, बिचौलियामार्फत पुग्ने बिरामीलाई उपचारको नाममा लुटिरहेको आरोप लागेको छ । ‘सरकारीबाट निजीमा रेफर गर्दा उपचार खर्चको नाममा निजी अस्पतालले असुल्ने रकममध्येबाट रेफर गर्नेले कम्तीमा १० देखि २० हजार रुपैयाँसम्म कमिसन लिन्छन्,’ नाम उल्लेख नगर्ने सर्तमा एक स्वास्थ्यकर्मीले भने, ‘कुनै मिहिनेतविनै त्यति कमिसन आउँछ भने सरकारीमा प्रसूति गर्ने झन्झट किन मोल्ने ?’ लहान अस्पताल पुग्नुअगावै पूर्व–पश्चिम सडकको दायाँबायाँ, ठाढी चोक क्षेत्रमा आधा दर्जनभन्दा बढी पोलिक्लिनिक, अस्पताल सञ्चालित छन् ।
आमा सुरक्षा कार्यक्रम लागू रहेको रामकुमार शारडा उमाप्रसाद प्रादेशिक अस्पतालबाट बिरामी कसरी निजीमा रेफर गरियो, त्यसमा को–को संलग्न छन् भन्ने विषयमा अस्पताल प्रशासनले छानबिन गर्ने मेडिकल सुपरिटेन्डेन्ट डा. बृजेन्द्रकुमार साहले बताए । ‘विशेषज्ञ चित्सिक, पूर्वाधार, उपकरणसहित प्रसूतिका लागि आवश्यक सबै सुविधा उपलब्ध छन्,’ उनले भने, ‘हाम्रोमा प्रसूति गराएको निःशुल्क हुन्छ, त्यति हुँदाहुँदै प्रसूति गराउन आएकी महिलालाई किन र कसरी रेफर गरियो भन्ने विषयमा छानबिन हुन्छ ।’ तीनजना स्त्री तथा प्रसूतिरोग विशेषज्ञ, पूर्वाधार, उपकरण पर्याप्त हुनुका साथै आमा सुरक्षा कार्यक्रमसमेत लागू रहेको सरकारी अस्पतालमा प्रसूति गराउन आएकालाई विभिन्न बहानामा रेफर गरिने गरेको बिरामीका आफन्तको गुनासो छ ।
स्राेत : नयाँ पत्रिका






