मनिषा मण्डल
सुखीपुर (सिरहा) । चिसो बढेपछि सिरहा जिल्ला सुखीपुर नगरपालिका वडा नम्बर २ स्थित रहेकाे श्री रामजानकी माध्यमिक विधालय( प्राविधिक) मा विद्यार्थीहरू घाम ताप्दै चौरमा बसेर पढ्न थालेका छन् ।

काेठामा अत्यधिक चिसो लागन थालेपछि पढाइ प्रभावकारी हुन नथालेपछि विद्यालयको खुला चौरमा घाम तापेर विद्यार्थीहरू अध्ययन गर्न थालेका हुन् ।
चिसाे यामको जाडोका कारण कक्षा कोठाभित्र चिसो हुने भएपछि विद्यार्थीहरू बाहिर चौरमा बसेर घाम ताप्दै पढ्न बाध्य भएका हुन् । शिक्षकहरू पनि चिसो कारण कक्षा कोठाभित्र पठनपाठन सञ्चालन गर्न निकै कठिन हुने गरेको बताउँछन् ।
घाम लागेको समयमा विद्यालयको खुला चौरमा पढाइ सञ्चालन गर्दा आनन्दसँग विद्यार्थीले पढ्न पाउने र शिक्षकलाई पढाउन पनि सहज हुने गरेको शिक्षकको भनाइ छ ।
कक्षा कोठाभित्र चिसोले पढ्न गाह्रो हुने भएकाले र बाहिर चौरमा बसेर घाम ताप्दै पढ्न थालेको श्री राम जानकी माध्यमिक विद्यालय (प्राविधिक ) छजनाका कक्षा ९ मा अध्ययनरत छात्रा मिनाक्षी दासले बताईन ।
चौरमा बसेर घाम ताप्दै पढ्न पाउँदा चिसोको कुनै वास्ता नहुने गरेको उहाँले बताईन् ।
चिसोका कारण विद्यार्थीको ध्यान पढाइतर्फभन्दा पनि जाडोमा कसरी बच्ने वा जोगिने भन्नेतर्फ गएको पाइएपछि घाम ताप्दै पढ्न र पढाउन बाध्य हुनुपरेको विद्यालयका प्रधानाध्यापक राम प्रताप यादवले बताउनुभयो ।
चिसोले गर्दा कक्षा कोठाभित्र बालबालिका राखेर पठनपाठन गर्न निकै सकस हुने भएपछि बेलाबखत बाहिर चौरमा विद्यार्थी राखेर पढाउने गरिएको विधालयका शिक्षक कासिन्दर दासबताउनुभयो ।
यता जिल्लाका अधिकांश विद्यालय चिसो कारण चाैरमै पढाई हुने गरेकाे छ ।
चिसोकै कारण कतिपय बालबालिका विद्यालय नै आउन छाडेका पनि विद्यालय स्रोतले जनाएका छन् ।





