सिरहा / सिरहामा करिब ४० लाख रुपैयाँ मूल्यबराबरका अवैध सामानसहित एक ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्रमा बढ्दै गएको तस्करी गतिविधिबीच गरिएको यो कारबाहीलाई सुरक्षा निकायले महत्वपूर्ण सफलता मानेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण मुख्यालय, सिरहाबाट उपरीक्षक सुमन जंग थापाको नेतृत्वमा खटिएको गस्ती टोलीले शनिबार राति करिब ८:४५ बजे नवराजपुर गाउँपालिका–५, देवनगरमा चेकजाँचका क्रममा स.१ ख. ५३५ नम्बरको टाटा ट्रक नियन्त्रणमा लिएको हो। विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा ट्रक नेपालबाट भारततर्फ अवैध रूपमा सामान लैजान खोजिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको  छ।

गस्ती टोलीले ट्रकबाट विभिन्न प्रकारका कस्मेटिक सामग्री, मञ्जन (टुथपेस्ट), ओखरलगायतका सामग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपालका डीएसपी सियाराम चौधरीका अनुसार बरामद सामान तथा सवारीसाधनको अनुमानित मूल्य करिब ४० लाख रुपैयाँ निर्धारण गरिएको छ ।
नियन्त्रणमा लिइएको ट्रक तथा सामान आवश्यक कारबाहीका लागि सिरहा भन्सार कार्यालय पठाउने प्रक्रिया अघि बढाइएको छ ।

स्थानीयका अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्रमा तस्करी दीर्घकालदेखि चुनौतिका रूपमा रहँदै आएको छ। यहाँबाट लागुऔषध, मदिरा, गाँजा, लत्ताकपडा, मोटर पार्ट्स, इलेक्ट्रोनिक्स तथा सुर्तीजन्य सामग्री ओसारपसार हुने क्रम रोकिएको छैन ।

सुरक्षा विज्ञहरूका अनुसार खुला सीमा, सीमित जनशक्ति र कमजोर निगरानी तस्करी नियन्त्रणमा मुख्य चुनौती बनेका छन्। उनीहरूले प्रभावकारी निगरानी, प्रविधिमैत्री सुरक्षाव्यवस्था र निरन्तर कारबाहीलाई तस्करी नियन्त्रणका लागि अत्यावश्यक बताउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय