काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा अर्थविद् स्वर्णिम वाग्लेले नेपालमा सवारी साधन खरिद गर्दा लाग्ने अत्यधिक कर प्रणाली परिवर्तन गर्ने संकेत दिएका छन्। उनले आगामी सरकारले नयाँ सवारी खरिदमा लाग्ने कर करिब ३०० प्रतिशतसम्म पुगेको व्यवस्था हटाउने योजना बनाउने बताएका हुन्।
वाग्लेले अहिले नेपालमा सवारी साधनमा लगाइने कर अत्यन्त उच्च भएकाले सर्वसाधारणका लागि गाडी खरिद गर्नु निकै महँगो र कठिन भएको बताएका छन्। उनका अनुसार यस्तो कर प्रणालीले उपभोक्तालाई आर्थिक बोझ मात्र बढाएको छैन, बजारको प्रतिस्पर्धा र आर्थिक गतिविधिलाई पनि असर पुर्याएको छ।
उनले सरकार परिवर्तनसँगै कर संरचनामा सुधार गर्दै सवारी खरिदलाई सहज बनाउने नीति ल्याइने उल्लेख गरेका छन्। वाग्लेले भने, “हामी सरकारमा आएपछि नयाँ सवारी खरिद गर्दा लाग्ने करको संरचना पुनरावलोकन गरेर अहिलेको कर प्रणाली हटाउने वा ठूलो मात्रामा घटाउने दिशा लिन्छौँ ।”
नेपालमा हाल सवारी साधनमा भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (VAT) लगायत विभिन्न शीर्षकमा कर लाग्दा कुल मूल्यको २५०–३०० प्रतिशतसम्म पुग्ने गरेको छ। यही कारणले नेपाल विश्वकै महँगो सवारी बजारमध्ये एक मानिन्छ ।
विश्लेषकहरूका अनुसार यदि सरकारले सवारी कर घटाउने नीति ल्याएमा सवारी बजार विस्तार, राजस्व संरचना सुधार र उपभोक्ता पहुँच वृद्धि हुने सम्भावना देखिन्छ। तर यस्तो निर्णयले राजस्वमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा भने विस्तृत अध्ययन आवश्यक हुने बताइन्छ ।





