सिरहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा क्षेत्र नम्वर १ का प्रतिनिधिसभा उम्मेदवार सत्य नारायण यादवले लहान नगरपालिका नम्वर ४ मा स्थानीय जनसमुदायसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रममार्फत यादवले वडावासीसँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, स्थानीय सडक अवस्था, रोजगारी तथा युवाको भविष्यजस्ता विषयमा उनीहरूको समस्या–गुनासा सुने । स्थानीयवासीहरूले दीर्घकालीन विकास योजना, पारदर्शी शासन तथा जनमुखी कार्यक्रमको आवश्यकता औँल्याउँदै क्षेत्रको समग्र विकासप्रति चासो व्यक्त गरे ।
उम्मेदवार यादवले मधेसका हक–अधिकार, सामाजिक न्याय र समावेशी विकासलाई जसपा नेपालको प्रमुख एजेन्डा भएको उल्लेख गर्दै भने, “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो। अवसर पाए क्षेत्र नं।–१ को विकासका सबै एजेन्डामा संसदमा बलियो आवाज उठाउँछु ।”
अन्तरक्रिया कार्यक्रममा सहभागी युवाहरूले रोजगारी अभाव र वैदेशिक पलायनबारे चिन्ता व्यक्त गरे। सो प्रसङ्गमा यादवले स्थानीय तहमै सीपमूलक तालिम, कृषि आधुनिकीकरण र साना उद्योग प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाए ।

लहान–४ मा आयोजित कार्यक्रममा स्थानीय अगुवा, बुद्धिजीवी, युवाहरू तथा जसपा नेपालका कार्यकर्ता–समर्थकहरूको उल्लेख्य सहभागिता थियो । सहभागीहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा परिवर्तन र विकासको एजेन्डामा विश्वास गर्दै जसपा नेपाललाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।





